Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सुनकोसी मरिन डाइभर्सन परियाेजनाकाे सुरुङ छेडिन ११० मिटर बाँकी   


काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेकाे हाे ।

तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको परियाेजनाकाे सुरुङ निर्माण प्रक्रिया पूरा हुने चरणमा पुगेकाे छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा बैशाख २६ गते विशेष समारोह आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको परियाेजनाले जनाएको छ ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे उपस्थितमा बैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेकाे बरालले जानकारी दिए ।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै  बरालले भने, “ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।”

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सनपछि सुनकोसी मरिनमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न  ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट पनि परियाेजनाकाे नियमित अनुगमन भइराखेको छ । २०७९ साल असोज २८ गतेदेखि सुरुङ निर्माण सुरु गरिएको थियाे ।

सुनकोसी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।

बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युतगृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

सुनकोसी मरिन डाइभर्सन परियाेजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

आगामी बर्खा अघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । बैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युतगृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । याे परियाेजनाबाट तराई–मधेसका कूल १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिन खोलामा पथान्तरण गरिनेछ ।    सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै याे परियाेजनाबाट ३१ मेगावाट विद्युत उत्पादन हुनेछ ।

परियाेजनाकाे सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

याे परियाेजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका ५ जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । याे परियाेजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ ।


Read Previous

सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै

Read Next

राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा   

Leave a Reply

Your email address will not be published.