Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजनाकाे निर्माण  थालियाे


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सिँचाइ आयोजना निर्माणकाे पुनः थालनी गरिएकाे हाे ।

“तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि ७ वर्षदेखि अलपत्र थियाे । “यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ”, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने ।

७ वर्षअघि १३ लाख रुपैयाँ खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट ५ सय मिटर लामाे पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप ३ सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिए ।

खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गरेका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका बताए ।


Read Previous

राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा   

Read Next

‘लगानी सम्मेलन सफल बनाउन सबैको सहभागिता र भूमिका रहनुपर्छ’

Leave a Reply

Your email address will not be published.