Nepal Purbadhar

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’


म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धाराजडित खानेपानी आयोजना निर्माण भएको हो । एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले बताएका छन् ।

“आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७÷७८ देखि निर्माण सुरु भएको थियो”, उनले भने । “यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।” उनी भन्छन् ।

घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत भएको अनि झन्झट हटेको छ । “पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो”, धारापानीकी मञ्जु थापाले भनिन्,, “घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।” यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्तिमा समस्या देखिएको थियो ।

धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे । उपभोक्ताको श्रमदानबाहेक एक करोड ११ लाख ९८ हजार दुई सय ४२ रुपैयाँको लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले बताएको छ । अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए ।

आयोजनाको लागत एक करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको पौडेल बताउँछन् । कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् ।


Read Previous

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

Read Next

पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र