काठमाडौं । कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी सरकारले देशमा नै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने तयारी गरेको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङ सम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायहरूसँगको चरणवद्ध परामर्श पछि शुक्रवार अन्तिम रूप दिइयो ।
नेपालमा उत्पादित कफीको गुणस्तर र स्वच्छता सुनिश्चित गरी उचित स्तर कायम राख्न, निकासी व्यापारलाई प्रवर्द्धन गर्न, प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ यो निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत जारी हुनेछ ।
युरोपियन युनियको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले खाद्य प्रविधि तथा गुणस्तर विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी उत्पादक संघ, केन्द्रीय कफी सहकारी संघ लगायत सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायहरूका साथै यसक्षेत्रका विज्ञहरूसँगको विभिन्न चरणको छलफल मार्फत यो मस्यौदा तयार गर्न सहयोग गरेको हो ।
उक्त निर्देशिकामा असल अभ्यास अन्तरगत कफी प्रशोधन पूर्वाधारहरू, प्याकेजिङ, भन्डारण तथा ढुवानी एवं प्रमाणीकरणका आधारभूत प्रावधानहरू, प्रशोधन र प्याकेजिङमा काम गर्ने व्यक्तिको प्राविधिक दक्षता लगायतका विषयहरू समेटिएका छन् । उक्त अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सहसचिव सवनम सिवाकोटीले नेपालमा कफी क्षेत्रमा असल अभ्यासमार्फत गुणस्तर सुधारका लागि यो निर्देशिका उपयोगी हुने बताइन् ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कफी विज्ञ संचित न्यौपानेले यो निर्देशिका पाकेको कफी चेरी टिपे पश्चात: सार्टिंग, पल्पिङ्ग, फर्मेन्टेसन (किण्वन), सुकाउने, भण्डारण, हलिङ्ग, ग्रेडिङ्ग, सर्टिङ्ग, रोष्टिङ्ग लगायतका कफी प्रशोधनका चरणहरु र विभिन्न प्रशोधित तथा अर्धप्रशोधित कफी प्याकेजिङ्ग गर्ने उद्योग तथा व्यवसायमा लागू हुने गरी तयार गरिएको बताए ।
नेपाल कफी उत्पादक संघका महासचिव सन्तोष पोखरेलले निर्देशिकाका रहेका प्रावधानहरूबारे सामान्य किसानहरूमा पनि प्रचार प्रसार गर्न सकिए असल अभ्यासलाई व्यापक रूपमा लागू गर्न सहयोग पुग्ने बताए ।