
जाजरकोट । जाजरकाेट जिल्लाकाे बारेकोट गाउँपालिकाले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका ४ आयोजना निर्धारित समय अगावै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा कर्णाली प्रदेशका १५ स्थानीय तहमा सञ्चालित आयाेजना मध्ये बारेकाेटले निर्धारित समय अगावै पूरा गरेकाे हाे ।
बारेकोटले ४ आयोजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिए । बारेकोट–४ दहमा जडीबुटी सङ्कलन केन्द्र र वडा नं ५ मा राजुरा शीर्षबाट बालुवासम्म तटबन्ध निर्माणकाे काम सिकएकाे छ ।
यस्तै, वडा नं ३ मा गाग्राखोला लघु जलविद्युत र वडा नं १ मा फडका खोला लघु जलविद्युत आयोजनाको कुलो निर्माण कार्य सम्पन्न भइसकेकाे शर्माले बताए । पालिकाको मागमा आधारित जलवायु परिवर्तन उत्थानशील कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । यस कार्यक्रमबाट निर्माण भएका योजनामा काम गर्ने मजदुरको ज्याला मजदुरकै खातामा सिधै जम्मा गरिने नियम छ ।
गाउँपालिकाले ४५ लाख रुपैयाँ र कार्यक्रमले एक करोड ३८ लाख ११ हजार एक सय ४१ रुपैयाँ सहयोग गरेको छ । बारेकोटले तोकिएको समयअगाबै आयोजना सम्पन्न गर्नका लागि गम्भीरतापूर्वक लिएका कारण सम्भव भएको उनले बताए ।
तोकिएका आयोजना सम्पन्न गर्नका लागि सामूहिक प्रयास, प्राथमिकता प्राप्त आयोजना छनोट गर्नु, काममा संलग्न कर्मचारीको सक्रिय तथा कार्यसम्पादन क्षमता, उपभोक्ता समिति तथा कामदारलाई निर्माणपूर्व आयोजना कार्यान्वयनसम्बन्धी विस्तृत अभिमुखीकरणले समेत भारी विकास भएको गाउँपालिकाले जनाएको छ ।
यो कार्यक्रम जाजरकोटमा बारेकोट, नलगाड, सल्यानमा दार्मा, दैलेखमा दुल्लु, सुर्खेतमा सिम्ता र भेरीगङ्गा, कालीकोटमा रास्कोट र शुभकालिका, जुम्लामा तिला, मुगुमा सोरु र मुगूम कार्मारोङ, हुम्लाको ताजाकोट, सिमकोट र खार्पुनाथ, डोल्पाको से–फोक्सुन्डोमा कार्यक्रम लागू भएको छ । सबै पालिकाभन्दा बारेकोट गाउँपालिकामा ९८ प्रतिशत काम सम्पन्न भएकाले बारेकोट अग्रस्थानमा रहेको पाइएको छ ।
यो कार्यक्रमले पालिकासँग मिलेर काम गर्ने मजदुरलाई बैंक खातामार्फत भुक्तानी, स्थानीय मर्मतसम्भार कोषको व्यवस्थापन, पालिका केन्द्रित खरिद विधिको अवलम्बन, स्थानीय पूर्वाधारसँग सम्बन्धित कार्यविधि तथा निर्देशिका निर्माण तथा कार्यान्वयन, आयोजना छनोटमा प्राथमिकीकरण विधिको उपयोग, अनुगमन तथा निरीक्षण चेकलिष्टको प्रयोग, आयोजनाको विस्तृत सर्भे, डिजाइन तथा लागत स्टिमेटको सुरुआत, बेरोजगार सूचीमा सूचीकृत घरधुरीमध्येबाट कामदार छनोट हुने गरेको छ ।








