Nepal Purbadhar

जलविद्युत गृहको कम्पाउण्ड ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग


काठमाडौं। जलविद्युत आयोजनाको निर्माण ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टिकरण सोधिएको छ ।

किमाथांका अरुण जलविद्युत आयोजनाको पावर हाउस (विद्युत गृह) को कम्पाउण्ड निर्माण ठेक्का लिएर काम नगर्ने डोलेश्वर महादेव निर्माण सेवा तथा सप्लायर्स प्रालिसँग विद्युत उत्पादन कम्पनी लिमिटेडले स्पष्टीकरण सोधेको हो ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। डोलेश्वरले संखुवासभामा निर्माणाधीन किमाथांका अरुण जलविद्युत आयोजनाको पावर हाउस वरिपरिको कम्पाउण्ड निर्माण गर्ने जिम्मा पाएको थियो।

२०७८ चैत २१ गते ठेक्का पाएको ठेक्कामा कम्पनीले एक वर्षपछि अर्थात २०७९ चैत २० गतेभित्र काम सक्नुपर्ने थियो।

हालसम्म पनि निर्माणस्थलमा गिटी तथा बालुवा संकलन बाहेक कुनै काम पनि नभएको सूचनामा उल्लेख गरिएको छ । ‘पटक–पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत काम सुरु हुन नसकेको हुदा ठेक्का सम्झौता बमोजिम कारबाही किन अघि नबढाउने ?’ सूचनामा भनिएको छ।

४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा प्रस्ताव गरिएको छ। यो नदी प्रवाहमा आधारित आयोजना हो।


Read Previous

दरम खोला हाइड्रो इनर्जीले आइपिओ निष्कासन गर्ने

Read Next

कर्पोरेट पेमार्फत २ खर्ब बढीको कारोबार