Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने


काठमाडौं । रामेछापमा निर्माण सम्पन्न ७ मेगावाटको उपल्लो खिम्ती-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निर्माण पूरा भएको १४ महिनापछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा आएको हो ।

शनिबारबाट आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीका अध्यक्ष हरि पाण्डेले बताए । उनका अनुसार आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणले दिएको वैकल्पिक ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा लगेर जोडिएको छ ।

‘प्रसारण लाइनको समस्याले बिगत १४ महिनादेखि आयोजनाको विद्युत खेर गइरहेको थियो,’ उनले भने, ‘लामो प्रतिक्षापछि ७ मेगावाटको एउटा आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।’ हिउँदमा आयोजनाबाट ३ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने भए पनि परीक्षण चरणमा साढे २ मेगावाट विद्युत प्रसारण प्रणालीमा गइरहेको उनले बताए ।

आयोजनाले २ साताको परीक्षणपछि व्यापारिक उत्पादन सुरु गर्ने पाण्डेले जानकारी दिए । १२ मेगावाटको उपल्लो खिम्ती भने अझै प्रसारण प्रणालीमा आएको छैन । आयोजना सञ्चालनका क्रममा प्राविधिक समस्या आएका कारण उत्पादन सुरु हुन नसकेको कम्पनीले जनाएको छ ।

अर्को आयोजना यही साताको अन्त्यसम्ममा प्रसारण प्रणालीमा ल्याउन काम भइरहेको उनले बताए । ‘आयोजना एकै पटक सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो । लामो समय सञ्चालन नभएका कारण एउटा उपकरण फेर्नु पर्ने देखिएकाले तत्काल सुरु गर्न सकिएन । अब ढिलोमा साताको अन्त्यसम्ममा आयोजना प्रसारण प्रणालीमा आइसक्छ’ पाण्डेले भने ।

प्राधिकरणले विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन पूरा हुन थप समय लाग्ने भएपछि यी २ आयोजनाको विद्युत गर्जाङ सबस्टेसनदेखि ३३ केभी लाइनमार्फत जिरी सबस्टेसनमा जोड्ने विकल्प प्रवर्द्धक कम्पनीलाई दिएको थियो । स्थानीय अवरोधका कारण प्रसारण लाइनको काममा ढिलाइ भएपछि माथिल्लो खिम्ती र उपल्लो खिम्ती–२ को विद्युत जिरी सबस्टेसनमा जोड्ने विकल्प दिएको हो ।

प्रसारण लाइनको समस्याका कारण यी दुई जलविद्युत आयोजना विगत १४ महिनादेखि राष्ट्रिय प्रणालीमा जोडिन सकेका थिएनन् । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत २ आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यी आयोजनाको विद्युत सिंगटीसम्म पुर्याउन १३२/३३ केभी सिंगटी सबस्टेसनमा ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जडान गरी सञ्चालनमा ल्याइसकिएको छ ।यी आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न १३२/३३ केभी गर्जाङ सबस्टेसनमा जडान भएको ३० एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखी सञ्चालनमा ल्याइएको छ ।

अहिलेलाई वैकल्पिक प्रसारण लाइनमार्फत दुई आयोजनाको १९ मेगावाटमध्ये १० मेगावाट विद्युत प्रणालीमा आउनेछ । गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन पूरा भइसकेपछि मात्रै दुवै आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न गरेको १ वर्षभन्दा बढी समयसम्म आयोजना सञ्चालन गर्न नपाउँदा करिब ६४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको प्रवर्द्धक कम्पनीले बताउँदै आएको छ । आयोजना सम्पन्न हुने बितिक्कै सञ्चालन गर्न नपाएका कारण बैंकको ब्याजदरले आयोजनाको २८ करोड बराबर लागत बढाएको छ । आयोजना सम्पन्न गर्न ३ अर्ब १४ करोड रुपैयाँ खर्च भएको थियो ।


Read Previous

स्थानीय चुनावमा विद्युतीय चुल्होबारे दलका मुद्दा

Read Next

चीनले कोइलामा आधारित थर्मल प्लान्टलाई १ अर्ब ५० करोड डलर सहायता दिने

Leave a Reply

Your email address will not be published.