
काठमाडौं । ऋषिपञ्चमी पर्वका अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा मंगलबार बिहानैदेखि ब्रतालु तथा श्रद्धालुको भीड लागेको छ। महिलाहरू पूजा, आराधना तथा भगवान् शिवको दर्शनका लागि बिहानैदेखि मन्दिर पुगेका छन्।
ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ।
यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ। कतिपय स्थानमा ३६५ ओटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले स्नान गर्ने र विशेष विधिबाट सप्तऋषिको पूजा गर्ने परम्परा पनि रहेको छ।
ऋषिपञ्चमीलाई महिलाहरूले वर्षभरि जान-अन्जानमा भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित गर्ने तथा शुद्धीकरणको पर्वका रूपमा मनाउने गर्छन्। पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा पनि बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको छ।
ऋषेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाका लागि आएका ब्रतालुको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको छ। पर्वका कारण टेकु क्षेत्रको धार्मिक वातावरण बिहानैदेखि भक्तिमय बनेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
