Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

राहुघाट आयोजनाको मुख्य सुरुङ पूरा


काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणद्वारा सहायक कम्पनीमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । रघुगङ्गा हाइड्रोपावर कम्पनी  प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने सुरुङकाे निर्माण  कार्य पूरा भएकाे हाे ।

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने  सुरुङ खन्न कार्य सकिएपछि मुख्य सुरुङ वारपार भएकाे आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए ।

“आयाेजनाकाे ६ हजार २ सय मिटर सुरुङ खनेर सकिएकाे छ”, उनले भने, “अब सुरुङमा लाइनिङ र कंक्रिटिङकाे काम  गर्छाैं ।” आयाेजनाकाे ३ हजार ८ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा नै छिचोलिएको थियो । अहिले  पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३ सय ३२ मिटर लामाे सुरुङ खनेर सकिएकाे उनले बताए ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।

मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

२०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।


Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

Read Next

बाढीले भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा ठूलो क्षति, १ जनाएकाे ज्यान गयाे