Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

६ वर्षपछि सुनवालुवा पक्की पुलकाे निर्माण पुनः थालियो   


भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे ६ वर्षदेखि  राेकिएकाे पुल निर्माणकाे काम पुनः सुरु भएकाे हाे ।

पक्की पुल निर्माणका लागि २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।

पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले जानकारी दिए ।

निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उनकाे भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको उनले बताए । “हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ”, उनले भने, “अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ ।”

फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित २२ करोड ७५ लाख २८ हजार ७ सय रुपैयाँ लागतमा पुल निर्माण थालिएको हो । पुलको पहिलो इस्पानको लम्बाइ ३७.५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८.३८ मिटर रहेको छ । हालसम्म १० करोड २९ लाख ११ हजार ६ सय ४२ रुपैयाँ भुक्तानी भएको छ ।

सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उनकाे भनाइ छ ।

“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भने, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”

बीचमा धेरैपटक काम रोकिएर अलपत्र अवस्थामा रहेको पुल निर्माण पुनः सुरु भएपछि उत्साह थपिएको स्थानीयवासी समाजसेवी धनहर्क राईले बताए । निर्माणको कामलाई चाँडो सम्पन्न गराउन सरकार पनि गम्भीर बन्नुपर्ने उनले बताए ।

“सुनवालुवा पुल हाम्रो बहुप्रतिक्षित योजना हो”, उनले भने, “सुरुमा २६ महिनामा सम्पन्न गर्ने भनिएको थियो । तर काम भने अलपत्र बनेको थियो । हाल आएर काम सुरु भएको छ । अब भने पुल बन्छ भन्ने आशा जागेको छ । पुललाई समयमा सम्पन्न गराउन राज्य गम्भीर बन्न आवश्यक छ ।”

यो पुलले भोजपुरको हतुवागढी–६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगालाई जोड्ने छ । यो पुल सुरुमा २६ महिनामा सम्पन्न गर्ने सम्झौता भएको थियो । सो समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । यसको पछिल्लो थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ ।

हाल कामलाई निरन्तरता दिएर म्याद थपको प्रक्रिया भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुमित ठाकुरले जानकारी दिनुभयो । हालसम्म यो पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको उहाँको भनाइ छ । भौगोलिक विगटताका कारण काम गर्न समस्या रहेको उनले बताए । यो पुल पूर्णरूपमा सम्पन्न हुनका लागि अझै साढे दुई वर्ष समय लाग्ने उनकाे भनाइ छ ।

“हामीले पुल निर्माणको कामलाई निरन्तरता दिएका छौँँ”, उनले बताए, “भौगोलिक विकटताका कारण काम गर्न कनिठाइ छ । १ वर्षमा चार महिनामात्र राम्ररी काम गर्न सकिन्छ । यसरी हेर्दा पुललाई पूर्णरूपमा सम्पन्न गराउन अझै साढे २ वर्ष समय लाग्ने देखिन्छ । पुललाई चाँडो सम्पन्न गराउन हामीले कामको गति बढाएका छौँ ।”


Read Previous

नक्साङ्कन त्रुटिले खानेपानी आयोजनाकाे निर्माण रोकियो   

Read Next

वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा

Leave a Reply

Your email address will not be published.