Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

माङसेवुङमा एकैपटक ४ सिँचाइ आयोजनाकाे निर्माण थालियाे   


इलाम । इलामको माङसेबुङ गाउँपालिकामा २ करोड ३३ लाख ६७ हजार रुपैयाँ लागतमा ४ वटा सिँचाइ आयोजनाकाे काम सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का ४ टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास गरी काम सुरु गरिएकाे हाे ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा शिलान्यास गरे । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले राससलाई जानकारी दिए ।

९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा ९३ लाख रुपैयाँ लागतमा लम्फेवा खोलाबाट निवाघारी र ५५ लाख ६८ हजार रुपैयाँ लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।

यसैगरी, नाङरुङमा ३९ लाख २१ हजार रुपैयाँ लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा ४५ लाख ७८ हजार रुपैयाँ लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए ।

“वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ”, वडाध्यक्ष योङाहाङले भने, “आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।”

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

गतवर्ष सोही वडामा २ करोड १४ लाख रुपैयाँ लागतमा ४ वटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट १३७ किसान लाभान्वित भएका छन् ।

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार यस वर्ष १४ हजार ८ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ ।

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् ।


Read Previous

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र निर्माण सम्बन्धमा सुझाव लिन समिति गठन   

Read Next

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध निर्माण

Leave a Reply

Your email address will not be published.