Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

दूधकोसी जलाशय आयोजनाको सुरुङ टिबिएमबाट खन्ने गरी डिजाइन तयार गरिँदै


काठमाडौं ।६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम)बाट खन्ने गरी डिजाइन तयार गर्ने काम भइरहेको छ । आयोजनाको १३ किलोमिटर लामो मुख्य सुरुङ खन्न टिबिएमको प्रयोग गर्ने गरी डिजाइन तयार भइरहेको हो ।

आयोजनाको मुख्य सुरुङ नै १३ किलोमिटर लामो भएकाले टिबिएम प्रविधिबाट खन्ने गरी डिजाइन तयार गर्ने काम भइरहेको दूधकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । ‘मुख्य सुरुङको लम्बाई नै १३ किलोमिटर लामो छ,’ उनले भने, ‘परम्परागत विधिबाट जाँदा अडिट ५ किलोमिटर अडिट सुरुङ पनि खन्नु पर्ने हुन्छ । तर, टिबिएम प्रयोग गर्दा अडिट सुरुङ बनाउनु नपर्ने हुँदा टिबिएमको विकल्पमा जाने योजना अनुसार काम गरिरहेका छौं ।’

उनले दूधकोसी सुरुङ खन्न टिबिएम प्रयोग हुँदा भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजनापछिको नेपालमै तेस्रो तथा पहिलो जलविद्युत आयोजना हुने बताए । दूधकोसीको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चासो दिएको गुरुङले बताए ।

‘सुरुङ खन्न टिबिएमको प्रयोग केही जोखिमयुक्त भएपनि मानवीय क्षतिको जोखिम भने शून्य नै हुन्छ । त्यसकारण अहिले हामी टिबिएमको प्रयोग दूधकोसी आयोजनामा गर्ने सम्बन्धमा विशेष विश्लेषण गरिरहेका छौं,’ उनले भने ।

टिबिएम आयोजना स्थलसम्म पुर्याउन सगरमाथा राजमार्गको गाईघाटदेखि ३० किलोमिटर खण्डमा खासै समस्या नदेखिने भएपनि रानीबास कटेपछिको फोक्सिङटारसम्मको ओरालो खण्डमा केही कठिनाई आउन अध्ययनले देखाएको छ । टिबिएम लैजान आउने समस्या समाधानको उपाय पनि रहेको उनले बताए ।

दूधकोसी विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको जलविद्युत आयोजना हो । यो आयोजना निर्माण सम्पन्न गर्न निर्माण अवधिको  ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) लागत अनुमान गरिएकाे छ । कूल लागतमध्ये  ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी) काे नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रि वित्तीय संस्थाहरूबाट आयोजनामा १ अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८ घरधुरी पूर्ण २९०१ घरधुरी आंशिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको निर्माण अवधि ७ वर्षको हुनेछ ।


Read Previous

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने   

Read Next

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना   

Leave a Reply

Your email address will not be published.