Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साना स्वदेशी लगानीकतालाई जलविद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको गत माघ २४ गते बसेको सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको पिपिए खुलाउने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय अनुसार अब प्राधिकरणले जुनसुकै समयमा प्रक्रिया पुर्याएर आउने १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए गर्नेछ । १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ (Take or Pay) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ ।

सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमशः ८.४० रुपैयाँ र ४.८० रुपैयाँ प्रति युनिटमा खरिद गर्ने गरी प्राधिकरणले यी आयोजनाका प्रवर्द्धक कम्पनीसँग पिपिए गर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरुको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरुमा उत्पादन सम्मिश्रण (Generation Mix) का आधामा तय गरिएको पिपिए सीमा (Quota) लागु नहुने व्यवस्था गरिएको बताए ।

‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पिपिए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरुलाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने ,‘अब ग्रिड आबद्ध सम्झौता (Grid Connection Agreement)  भएका र हुने १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पिपिए जति र जहिलेपनि गर्नेछौं ।’

१० मेगावाटसम्मका ८९ वटा आयोजनाहरुले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरुको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेको छ ।

दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत प्रणालीमा जलाशय जलविद्युत आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो ।

आरओआर आयोजनाहरुका लागि तय गरिएको अर्थात ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजनाहरु आरओआर छन् । प्राधिकरणले हालसम्म ९ हजार २ सय मेगावाटको पिपिए गरिसकेको छ ।

बढेको क्षमताको विद्युत किन्ने

प्राधिकरण सञ्चालक समितिले पिपिए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पिपिएको सीमा लागू नहुने निर्णय गरेको हो । कार्यकारी निर्देशक घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पीपीए संसोधन गरिने बताए ।

‘२५ प्रतिशतसम्म क्षमता अभिबृद्धि भएमा ‘लिऊ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लिऊ र तिर’को व्यवस्था लागू हुन्छ, हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिवृद्धि हुनुका साथै आयोजनाहरुलाई लगानी जुटाउनसमेत थप सहज बनाउने छ ।’

सौर्य ऊर्जाको सीमा बढ्यो

प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाहरुको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ । प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपिए भइसकेका आयोजनाहरुलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिश्पर्धाका आधारमा सौर्य ऊर्जाको पिपिए गर्नेछ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरुको पिपिए हुँदै आएको थियो ।

सौर्य आयोजनाको विद्युत् प्रतिश्पर्धाबाट खरिद गर्न प्रति युनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ । प्रतिश्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पिपिए गरिने छ ।

‘नयाँ व्यवस्था बमोजिम करिब ८ सय मेगावाटका सौर्य आयोजनाहरुको पिपिए गर्न सकिने छ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरुको पिपिए गर्ने गरी प्रतिश्पर्धा गराउने छौं, जलविद्युत आयोजनाहरु निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरु एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ’,कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट सबस्टेसन वरिपरी रहेका जग्गाको पनि प्रयोग हुने छ ।’

प्राधिकरणले प्रतिश्पर्धाबाट हालसम्म १७५ मेगावाटका सौर्य विद्युत आयोजनाको पिपिए गरेको छ । त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य आयोजनाहरु पीपीए गर्ने प्रक्रियामा रहेका छन् ।


Read Previous

एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

Read Next

विद्युत विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग   

Leave a Reply

Your email address will not be published.