Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन,मन्त्री बस्नेत भन्छन्,‘नवीकरणीय ऊर्जा विधेयक एक महिनाभित्र संसदमा पेस गर्छौं’


काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अबकाे १ महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औं वार्षिकोत्सवका अवसरमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयले विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेकाे बताएका हुन् ।

उनले वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति तथा समयको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ संसदमा पेश गर्न लागेको बताए ।

मुलुकभर ९८ प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेका उल्लेख गर्दै मन्त्री बस्नेतले आगामी डेढ वर्षभित्र शतप्रतिशत सबै घरधुरीमा विद्युत पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेकाे बताए । राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुर्याउन समस्याग्रस्त दुर्गम क्षेत्रमा वैकल्पिक  ऊर्जा प्रवर्द्धन अन्तर्गत सञ्चालित याेजनाबाट विद्युतीकरण गरिने उनकाे भनाइ छ ।

अहिले बत्ती बाल्न मात्रै विद्युतकाे उपयाेग भइरहेकाे बताउँदै उनले गुणस्तर सुधार गरी खपत बढाउन सरकारले योजनाबद्ध ढंगले काम गरिरहेकाे बताए । जलविद्युत् पनि नवीकरकणीय ऊर्जा नै भएकाले यसबाट थप लाभ लिनुपर्नेमा जोड दिँदै उनले कार्बन व्यापारलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

हालै संयुक्त अरब इमिरेटस् (युएई)मा सम्पन्न कोप–२८ ले पनि सन् २०३० सम्म नवीकरणीय ऊर्जाको प्रयोग र उत्पादनलाई दोब्बर बनाउने लक्ष्य राखेको जिकिर गर्दै मन्त्री बस्नेतले आन्तरिकरूपमा पनि यही नीतिअनुसार नै अगाडि बढ्ने बताए । सरकारले सधैँ निजी क्षेत्रको जायज माग सम्बोधन गर्दै आएको स्पष्ट पार्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील सङ्घसंस्था वा व्यवसायीसँग पनि सरकार मिलेर काम गरिरहेको उल्लेख गरे ।

सरकारले नीति, विधि, ऐन, कानुन निर्माण गरेर सहजीकरण गरिदिएको स्पष्ट पार्दै मन्त्री बस्नेतले भने, “निजी क्षेत्रले पनि स्पष्टरूपमा हामी यसो गर्छौं भनेर आउनुपर्यो । सधैँ माग राख्ने काम भने नगर्ने प्रवृत्ति त्याग्नैपर्छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले १६औं पञ्च वर्षिय याेजनाले ऊर्जाका क्षेत्रका याेजना पनि समेट्ने हुँदा सबैलाई आवश्यक सुझाव  दिन आग्रह गरे । उनले ऊर्जा क्षेत्रलाई प्रविधिसँग जाेडेर काम गर्नुपर्नेमा जाेड दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि प्रविधिकाे उपयाेग बढाएर काम गर्नुपर्ने उनकाे भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वैकल्पिक ऊर्जालाई नवीकरणीय ऊर्जा केन्द्रित बनाउन नीति बनिरहेकाे बताए ।

जल तथा ऊर्जा आयाेगकी सचिव सरिता दवाडीले साना याेजना स्थानीय तहमा हस्तान्तरण गरी वैकल्पिक ऊर्जा केन्द्र अब ठूला याेजना विकासमा केन्द्रित हुनुपर्ने बताइन् ।

नेपालका लागि बेलायती राजदूत राेब फेनले नेपालले कार्बन उत्सर्जनकाे लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जाकाे क्षेत्रमा धेरै काम गर्नुपर्ने बताए । उनले बेलायतले नेपालकाे वैकल्पिक ऊर्जाकाे क्षेत्रमा १ कराेड ८० लाख पाउण्ड अनुदान सहयाेग गरेकाे बताए ।

नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले दुरदराजमा राेजगारीकाे अवसर सृजना गर्न गुणस्तरीय विद्युत पहुँच पुर्याउनु पर्नेमा जाेड दिए ।

२७ वर्षमा वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन

देशभरमा वैकल्पिक ऊर्जाका आयाेजनाबाट उत्पादन भएकाे विद्युतकाे जडित क्षमता ८८ मेगावाट पुगेकाे छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन  केन्द्र अन्तर्गत पछिल्लाे २७ वर्षमा सञ्चालित विविध अनुदानका याेजनामार्फत लगानी भएका साैर्य तथा लघु जलविद्युत आयाेजनाबाट यति विद्युत उत्पादन भएकाे हाे ।

वार्षिकाेत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशभरका ३६ लाख घरधुरीमा वैकल्पिक ऊर्जाकाे पहुँच पुगेकाे बताए । ५ सय निजी  कम्पनीले वैकल्पिक ऊर्जाकाे क्षेत्रमा काम गरिरहेकाे बताउँदै ढकालले याे क्षेत्रमा ३० हजार जनाले राेजगारीकाे अवसर पाएकाे बताए ।

वार्षिकाेत्सव समाराेहमा वैकल्पिक ऊर्जा प्रवर्द्धन  केन्द्रमा २० वर्ष सेवा गरेका ५ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएकाे छ । साे अवसरमा केन्द्रका निर्देशक डा. सूर्यकुमार सापकोटा, निर्देशक रुद्रप्रसाद खनाल, वरिष्ठ अधिकृत सन्तोष राई, प्रशासकीय अधिकृत सविता अर्याल, सवारी चालक सूर्य स्याङ्तनलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको हाे । 

वार्षिकाेत्सवका अवसरमा नवीकरणीय ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकाे कदर स्वरुप सिम्पल इनर्जी प्रा.लि., खिम्ती ग्रामीण विद्युत सहकारी तथा भेञ्चर वेष्ट टु इनर्जी प्रा.लि.लाई सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट पुरस्कृत गरिएकाे छ ।

“मञ्चुका स्मृति अक्षयकोष” का संस्थापक सदस्य श्री सुप्रविध सुभाष श्रेष्ठ (श्री लुमिन कुमार श्रेष्ठ तथा कमला श्रेष्ठका छोरा) को मिति २०७३ आश्विन २३ गते एक सवारी दुर्घटनामा परी मिति २०७३ आश्विन २९ गते असामयिक देहान्त भएकोले स्व. श्रेष्ठको स्मृतिमा “सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार” को स्थापना गरिएको थियो ।

सो पुरस्कार अन्तर्गत प्रत्येक वर्ष नेपालमा नवीकरणीय/वैकल्पिक ऊर्जा प्रवर्द्धन तथा विकास गरी समुदायको जनजीवन उकास्न विशेष सहयोग पुर्याइरहेका संस्थाहरुलाई पुरस्कृत गरिंदै आएको छ ।

गत कात्तिक १८ गतेका लागि तय भएकाे वार्षिकाेत्सव कार्यक्रम जाजरकाेट भूकम्पका कारण स्थगित भएकाे थियाे । स्थगित कार्यक्रम अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा शुक्रबार आयाेजना गरिएकाे हाे ।


Read Previous

हिमालयन हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण बैशाखमा

Read Next

नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा उडान गर्ने   

Leave a Reply

Your email address will not be published.