Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

सन् २०२३ को प्रारम्भमा जलविद्युत उत्पादनमा इतिहासकै न्यून गिरावट: अध्ययन


काठमाडौं । सन् २०२३ काे सुरुवाती ६ महिनामा विश्वको जलविद्युत उत्पादन इतिहासकै न्यून विन्दुमा पुगेको एक अध्ययनले देखाएको छ । नवीकरणीय ऊर्जाको अनुसन्धानकर्ता थिंक ट्याङ्क एम्बरले गरेको अध्ययनले जलवायु परिवर्तनको असरका कारण गएकाे सुख्खा याममा पानी नपर्दा तथा तापक्रम बढ्न गई नदी तथा खोलामा पानीको सतह कम हुँदा जलविद्युतगृहहरूको उत्पादनमा सबैभन्दा बढी गिरावट आएको देखाएकाे हो ।

अध्ययन अनुसार विशेष गरी चीनमा सञ्चालनमा रहेका जलविद्युतगृहको उत्पादन सुख्खा यामको खडेरीको समयमा अधिक घटेको छ । सुख्खा याममा जलविद्युत उत्पादनमा गिरावट आउँदा विद्युतको माग र आपूर्ति व्यवस्थापनमा नकारात्मक प्रभाव पर्न गई अन्य स्राेतकाे विद्युतमा निर्भर हुनुपरेकाे पनि रिर्पोटमा जनाइएको छ ।

अध्ययन अनुसार वर्षकाे जुन महिनामा विश्वव्यापी जलविद्युत उत्पादनमा ८.५ प्रतिशतले गिरावट आएको छ । यो पछिल्लो दुई दशकमा जलविद्युत उत्पादनमा देखिएकाे इतिहासकै बढी गिरावट हो ।

विश्वमा जलविद्युत उत्पादनमा आएको गिरावटमध्ये ३ चौथाई चीनकाे गिरावट जलविद्युतगृहको उत्पादनमा छ । सन् २०२२ को जाडो महिना र सन् २०२३ को वसन्त ऋतुको मध्यतिर दक्षिण पश्चिम चीनका धेरै क्षेत्रमा औसतभन्दा कम वर्ष र उच्च तापक्रमका कारण जलविद्युतगृहको उत्पादनमा गिरावट आएको समाचारमा जनाइएको छ ।

जलविद्युत उत्पादनमा आएको गिरावटकाबीच सौर्य र वायु ऊर्जाको स्रोतबाट नवीकरणीय ऊर्जा उत्पादन १२ प्रतिशत बढेपनि विश्वव्यापी कार्बन उत्सर्जनमा सन् २०२३ को सुरुवाती ६ महिनामा केही वृद्धि भएको अध्ययन रिर्पोटमा उल्लेख छ ।

थिंक ट्यांकले बिहीबार सार्वजनिक गरेको अध्ययन रिर्पोट अनुसार जलविद्युत उत्पादन गिरावट आउँदा विद्युतको माग समेत थोरै मात्रै वृद्धि भएकाले कार्बन उत्सर्जनको वृद्धिलाई पनि अन्य वर्षको तुलनामा कम गर्न सहयोग पुग्यो । चीनले यो अवधिमा जलविद्युत उत्पादनमा आएको गिरावटका कारण अन्य स्रोतबाट विद्युतको आपूर्ति व्यवस्थापन गर्दा कार्बन उत्सर्जनमा ८ प्रतिशत वृद्धि भएको समाचारमा जनाइएको छ ।

सुख्खा याममा पानी नपर्नु तथा तापक्रम बढेर अधिक गर्मी हुनुलाई विश्वव्यापीरूपमा जलविद्युत उत्पादनमा गिरावट आउनुको कारण मानिएको छ । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भएको र अन्य वर्षहरूको तुलनामा राम्रोसँग वर्षा नहुँदा जलविद्युतगृहले विद्युत उत्पादन गर्न नसकेको थिंक ट्यांकको अध्ययन रिर्पोटमा भनिएको छ । याे वर्ष सुख्खा याममा नेपालका जलविद्युतगृहकाे पनि विद्युत उत्पादनमा इतिहासकै बढी गिरावट देखिएकाे थियाे । नेपाल विद्युत प्राधिकरणका अनुसार हिमालमा हिउँ नपर्दा तथा हिउँदे वर्षा नहुँदा गएकाे सुख्खा यामकाे उत्पादनमा अघिल्लाे वर्षकाे सुख्खा यामकाे तुलनामा ३० प्रतिशत घटेकाे थियाे ।

जलवायु परिवर्तनका कारण सुख्खा याममा विश्वकै जलविद्युत उत्पादनमा कमी आएकोमा भौगोलिक अवस्थाअनुसार घटेको उत्पादन परिमाण फरक-फरक देखिएको अध्ययन रिर्पोटमा जनाइएको छ । ‘बर्खा ढाँचा र जलविद्युत उत्पादनको तीव्रतामा पनि परिवर्तन आएको छ । तापक्रम बढ्दाको बढ्दो वाष्पीकरणले भौगोलिक आधारमा जलविद्युत उत्पादनमा सकारात्मक र नकारात्मक प्रभाव पर्नेछ’, रिर्पोटमा भनिएको छ ।

मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांशका देशहरूमा जलविद्युत उत्पादनको सम्भाव्यता राम्रो भएको र दक्षिण युरोप, अमेरिकाको दक्षिणी भाग एवं अन्य क्षेत्रको जलविद्युत उत्पादन कम हुँदै जाने अध्ययनमा भनिएको छ ।

यो वर्षको जलवायु परिवर्तन सम्मेलनले सन् २०३० सम्ममा विश्वभर नवीकरणीय ऊर्जा उत्पादनको क्षमता ३ गुणा पुर्याउन आह्वान गरेको छ । साथै, अन्र्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि हालै सन् २०३० मा पेट्रोलियम ऊर्जाको खपत इतिहासकै चरम विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद


Read Previous

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत

Read Next

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

Leave a Reply

Your email address will not be published.