Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिंचाई विभागमा नाराबाजी सहित तीन घण्टा धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालो पट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्ना सहित सांकेतिक ताला लगाएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) नेतृत्वको टोलीले सिंचाई विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको हो । सडक विभागको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकार निर्माण व्यवसायीहरूको समस्याप्रति गम्भीर नभएको टिप्पणी गरे ।

राज्यले काम लगाएपछि भुक्तानीको दायित्वबाट पन्छिन नमल्निे अध्यक्ष सिंहले बताए । धर्ना कार्यक्रममा महासंघका पूर्व अध्यक्ष रमेश शर्मा, मानार्थ सदस्य गेल्जे लामा, वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुबित श्रेष्ठ, कार्य समिति सदस्य विना अधिकारी, उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण गौतम सहित जिल्ला निर्माण व्यवसायी संघ धनुषा, रौतहट, भक्तपुरका अध्यक्षहरूले व्यवसायीहरूका जायज माग पूरा नभएसम्म जारी आन्दोलन रोक्न नहुने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) ले पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले व्यवसायीहरूका जायज माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन शुरु गरिएको अध्यक्ष स्पष्ट पारे ।  व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत व्यवसायीहरूले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरवार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् ।


Read Previous

व्यापार नीतिमा महिलालाई मुख्य प्रवाहमा ल्याइँदै

Read Next

प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

Leave a Reply

Your email address will not be published.