Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मेलम्चीको पानी प्रशोधन क्षेत्रमै खानेपानीको समस्या


काठमाडौं । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा १ बाट २७.५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका हुन् । सुन्दरीजलबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा भने यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा २ आलापोटका स्थानीयवासी श्याम धिमाल खानेपानी खोज्दैमा दिन जाने गरेको गुनासो गर्छन ।

स्थानीयवासी पानी खोज्न जाने धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो समस्या भोग्ने धिमालमात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई यहाँका नगरपालिकाले प्राथमिकतामा राखेपनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन । संविधानमा पनि खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । तर कार्यान्वयन भने हुन नसकेको पीडितको गुनासो छ ।

राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको पाँच महिना पूरा भएपनि वाग्मतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका वडा नं। १ पाथीभराका मङ्गलबहादुर तामाङको गुनासो छ । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाएपनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको उनले सुनाए ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्छन ।

जनप्रतिनिधि र पीडित स्थानीयवासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा वाग्मतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भएपनि पानी नआएको जानकारी पनि उनले दिए । धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन् । पानी नपाएर स्थानीयवासी धर्नामा बसेपनि धारामा भने पानी आउँदैन ।

जनताकै घर आँगनमै पुगेको स्थानीय सरकारको ध्यान आधारभूत विषयमा भन्दा पनि अन्यत्र जाँदा जनजीविकाको यो महत्वपूर्ण समस्या समाधान नभएको हो । नगर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न नसकेको गोकर्णेश्वर नगरपालिकाले देशव्यापी गजल महोत्सव गरेर समय र स्रोत सकाएको गुनासो पनि स्थानीयवासीले गरेका छन् । संविधानले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर विगत तीन वर्षदेखि देशव्यापी रुपमा साहित्यिक प्रतियोगिता गर्दै आएको नगरपालिका खानेपानी समस्या समाधान गर्न भने नलागेको स्थानीय पासाङ तामाङले बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश राई मुहान क्षेत्रमा पानीको अभाव रहेको बताउँछन् । वाग्मतीबाट वितरणका लागि ल्याइएको पाइप पुरानो भएकाले चुहावट हुने गरेको र मेलम्चीको पानी सुन्दरीजलबाट ठूलो पाइपमा ल्याएर महाँकालचौरबाट मात्र वितरण हुने गरेकाले त्यस क्षेत्रमा पानीका अभाव भएको उनले जानकारी दिए । त्यस क्षेत्रमा खानेपानी समस्या समाधानका लागि योजना बनिरहेकाले केही समयमा समस्या समाधान हुने केयुकेएलले जनाएको छ । रासस


Read Previous

इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने

Read Next

उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरम सभापतिमा गुरागाईं

Leave a Reply

Your email address will not be published.