Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   


काठमाडाैं ।  निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ ।  समयमा काम सम्पन्न नगरेपछि सडक निर्माणकाे ठेक्का पाएकाे सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडसँगकाे सम्झाैता ठेक्का ताेड्ने तयारी भइरहेकाे हाे ।

सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा १४ प्रतिशत मात्रै काम भएकाे छ । निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन कुँवरले बताए ।

“निर्माण कम्पनीको कामको मूल्याङ्कन भइरहेको छ,” उनले भने, “मूल्याङ्कन सकिएपछि नै ठेक्का तोडिनेछ ।” २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो ।

वारिपारि दुबैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इञ्जिनीयर कुँवरले बताए ।

“तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “अहिलेसम्म काम राम्रो भइरहेको छैन । व्यावसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।”

निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इञ्जिनीयर कुँवरले बताए । पुलमुनि दुबैतर्फ काम गर्नेगरी ठेक्का सम्झौता गरिएकामा वडा नं २९को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उनले जानकारी दिए ।

स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ । बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन ।

बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इञ्जिनीयर कुँवरले जानकारी दिए । धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो ।

क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित सञ्चालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन् । धोबीखोला पुलमा फरक फरक रङ्ग लगाइएको छ । फरक रङ्गका आधारमा ठाउँको समेत नाम रहन गएको छ ।

त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत सञ्चालनमा छन् ।


Read Previous

माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम

Read Next

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह   

Leave a Reply

Your email address will not be published.