
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको बताए । उनले मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्नेमा जाेड दिए ।
आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई र धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गरे ।
प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए ।
दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिक रूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनकाे भनाइ छ । भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले दाहो¥याए ।
सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले ५ सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताए ।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनकाे भनाइ छ । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए । ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्नेजस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उनले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे। अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरे । कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थिए ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








