Nepal Purbadhar

धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरीमा ‘महाआरती’


नेपालगञ्ज । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् ।

बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी संकल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउँछन्।

उनका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजनकीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवर्द्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । महाआरतीले धार्मिक पर्यटन प्रवर्द्धनका साथै नगरवासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ।


Read Previous

सडक स्तरोन्नति नहुँदा सास्ती

Read Next

काम नगर्ने ९ निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो