Nepal Purbadhar

चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप


काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को ६ महिनामा १८१ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माण पूरा भई सञ्चालनमा आएका विद्युत आयोजनाको यति विद्युत प्रसारण प्रणालीमा थपिएको जनाइएको हो ।

१८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिएसँगै विद्युत जडित क्षमता २ हजार ४ सय ५१ मेगावाट पुगेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षमा ८ सय मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएकोमा अहिलेसम्मको प्रगति हेर्दा यो लक्ष्य पूरा हुने सम्भावना न्यून देखिन्छ ।

यस्तै, ६ महिनामा ६६ केभी क्षमताको १५२ किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । यही अवधिमा ३३ केभी क्षमताको १ सय किलोमिटर प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा आएको छ ।

नेपालतर्फबाट यही अवधिमा १ हजार ५८ गिगावाट घन्टा विद्युत भारतीय बजारमा निर्यात भएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा जनाइएको छ । वैकल्पिक ऊर्जातर्फ ६ महिनामा ३ हजार ५ सय घरेलु सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ ।

विद्युत उत्पादनतर्फ सौर्य ऊर्जा प्रणालीबाट ०.३१ मेगावाट र लघुजलविदुतबाट ०.२१ मेगावाट थप भएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । २ वटा ठूला व्यावसायिक बायोग्यास प्लान्ट र ३ हजार घरायसी बायोग्यास प्लान्ट निर्माण पूरा भई सञ्चालनमा आएका छन् ।

यसै वर्ष निर्माणमा गएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको २.६ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न हुँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कैलालीको लम्की विस्तार नहरको १५ किलोमिटर निर्माण कार्य पूरा भएको छ ।

Facebook Comments

Read Previous

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

Read Next

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले गरे जीपलाइन उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar