Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

भौतिक पूर्वाधार मन्त्रालयको आगामी ५ वर्षका १२ प्राथमिकता


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ५ वर्षको लागि १२ प्राथमिकता अघि सारेको छ । मन्त्रालयले अघि बढाएका प्राथमिकताहरुमा ४ वटा पूर्व–पश्चिम राजमार्ग विस्तार र सम्पन्न गर्नेदेखि कोटेश्वर एयरपोर्टमुनीबाट सुरुङमार्ग निर्माण गर्नेसम्मका योजना छन् ।

मन्त्रालयले पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गको पूर्वी खण्ड (झापा–बुटवल) ४ लेनमा विस्तार गर्ने काम सम्पन्न गर्ने योजना बनाएको छ । यो सडक खण्डको लम्बाई ५८७ किलोमिटर रहेको छ ।

त्यस्तै, यही अवधीमा पूर्व पश्चिम महेन्द्र राजमार्गको पश्चिम खण्ड, बुटवलदेखि गड्डाचौकीसम्म ४ लेनमा विस्तार गर्ने तयारी गर्ने उल्लेख गरेको छ । यस खण्डको लम्बाई ४३९ किलोमिटर रहेको छ ।

मन्त्रालयका प्रवक्ता शिव नेपालका अनुसार हुलाकी राजमार्ग र तराईका ३१ वटा उत्तर दक्षिण सडक गरी कुल १ हजार ७५८ किलोमटिर सडक कालोपत्रे स्तरमा निर्माण सम्पन्न गर्ने योजना छ । पूर्व–पश्चिम नै जोड्ने पुष्पलाला मध्य पहाडी राजमार्गको १ हजार ८७९ किलोमिटर निर्माण सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ । त्यस्तै, मदनभन्डारी राजमार्गको पश्चिम खण्डको निर्माण थालनी गर्ने योजनामा मन्त्रालय रहेको छ ।

मन्त्रालयका १२ प्राथमिकता

१. चार वटा पूर्व–पश्चिम राजमार्गहरू

क) पूर्व पश्चिम महेन्द्र राजमार्गको पूर्वी खण्ड (झापा–बुटवल) ५८७ कि.मि. लाई ४ लेनमा बिस्तार ।

ख) पूर्व पश्चिम महेन्द्र राजमार्गको पश्चिम खण्ड (बुटवल–गड्डाचौकी) ४३९ कि.मि.लाई ४ लेनमा बिस्तारको तयारी । हुलाकी राजमार्ग र तराईका ३१ वटा उत्तर दक्षिण सडकहरू गरी कुल १७५८ कि.मि. कालो पत्रे स्तरमा निर्माण सम्पन्न गर्ने ।

ग) पुष्पलाल मध्य पहाडी राजमार्गको १८७९ कि.मि. निर्माण सम्पन्न गर्ने ।

घ) मदन भण्डारी राजमार्गको पश्चिम खण्डको निर्माण शुरु गर्ने

२. अरनिको राजमार्ग ८४ कि.मि.लाई दुई लेनमा बिस्तार । ।

३. गल्छी – रसुवागढी सडक ८४ कि.मि.लाई २ लेनमा बिस्तार ।

४. कालीगण्डकी, बेनी–जोमसोम–कोरोला सडक, १८४ कि.मि. २ लेन स्तरमा बिस्तार ।

५. नागढुंगा सुरुंगमार्ग सम्पन्न गर्ने, सिध्दबाबा सुरुंगमार्ग सम्पन्न गर्ने ।

६. टोखा–छहरे सुरुंग मार्गको अध्ययन सम्पन्न गरी निर्माण शुरु गर्ने ।

७. कोटेश्वर एअरपोर्टमुनीबाट सुरुंगमार्ग निर्माण गर्ने ।

८. सूर्य विनायक–धुलिखेल सडकलाई ४ लेनमा बिस्तार ।

९. काठमाडौं तराई द्रुतमार्गको निर्माण सम्पन्न गर्ने ।

१०. खुर्कोट–चियाबारी सुरुंगको अध्ययन सम्पन्न गरी निर्माणको थालनी गर्ने ।

११. पुर्व पश्चिम विद्युतीय रेलमार्ग योजना, काठमाण्डौ उपत्यका मेट्रोरेल आयोजना ।

१२. नदीहरुमा जलयान संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने

सन्तुलित विकासमा जोड : पूर्वाधार मन्त्री

उपप्रधान मन्त्री एवमं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले सन्तुलित विकासमा जोड दिने बताएका छन् । मन्त्रालयमा मंगलबार पत्रकारसँगको साक्षात्कार कार्यक्रमा बोल्दै उनले योजना छनौटदेखि स्रोतको विनियोजनसम्म असन्तुलित रहेको र एकै ठाउँमा बजेट खन्याउने प्रवृतिले विकास योजनाको निर्माण समेत सन्तुलिन नभएको बताए ।

‘अहिलेसम्म ठूला सहरी क्षेत्रमा पूर्वाधार योजना केन्द्रित छ, यसलाई समानुपातिक वितरण गर्नुपर्ने खर्च रहेको छ’ उनले भने । आम नागरिकले विकासलाई अपेक्षित अनुभुति गर्न नपाएको र अनुभुति हुनेगरी योजना निर्माण गर्ने काममा भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण भुमिका हुने उनको भनाइ छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले राजमार्ग निर्माण गरे पनि त्यसको रक्षा गर्न नसकिएकोले सडक सुरक्षालाई उच्च प्राथकिता दिनुपर्ने बताए । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चालु वर्ष कामले गति लिने बेलामा क्रसर बन्द भएको र अहिले सहज भए पनि कामले गति लिइनसकेको जानकारी दिए ।

कार्यक्रममा रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जयनगर विजलपुरा रेल निर्माण कार्य सम्पन्न भएकाले अहिले भारतले हस्तान्तरणको प्रक्रियामा रहेको बताए ।


Read Previous

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

Read Next

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

Leave a Reply

Your email address will not be published.