Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

इयु उच्च स्तरीय टाेलीद्वारा चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निरीक्षण, अन्य आयोजनामा पनि लगानी गर्ने इच्छा व्यक्त


काठमाडौं । युराेपियन युनियन (इयु) को उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरी प्रगतिबारे जानकारी लिएकाे छ । इयुका एसिया निर्देशक पिटरिस अस्टस (Peteris Ustubs-Director for Asia,EU ) नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी पछिल्लाे प्रगतिकाे अवस्थाबारे जानकारी लिएकाे हाे ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान छ । इयुले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण छ ।

उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरूसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको थियो ।

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा जानुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

भौगोलिकरूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड-१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

इयुले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशय आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको पनि घिसिङले बताए । उनका अनुसार इयु  अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य आयोजनाहरूमा लगानीका लागि सकारात्मक देखिएका छन् ।

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, २२० केभी मर्स्याङ्दी काेरिडोर प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैत (मार्च २०२३) भित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ ।

प्रसारण लाइन निर्माणमा करिब ३ सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हवमा १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरू समानान्तर रुपमा अगाडि बढाउन निर्देशक दिए ।

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरुमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरहरुको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ ।

खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ ।

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज (Pinggao Group of Companies, China)ले अहिले निर्माणमा तिब्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।


Read Previous

सडक बत्ती जडान गर्न काठमाडौं महानगर र विद्युत प्राधिकरणबीच सम्झौता

Read Next

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

Leave a Reply

Your email address will not be published.