Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बारा र पर्साकाे विद्युत प्रसारण प्रणाली सुधार गर्न परवानीपुर-पोखरिया प्रसारण लाइन निर्माण गरिँदै


काठमाडौं । मधेश प्रदेशको विद्युत प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधारका लागि परवानीपुर–पोखरिया १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बाराको जितपुर सिमरास्थित परवानीपुर सबस्टेसनदेखि पर्साको पोखरियामा प्रस्तावित १३२/३३ केभी सबस्टेसनसम्म  २०.७१६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माणका लागि आवेदन दिएकाे विद्युत प्राधिकरणलाई अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण गरी सञ्चालन गर्दा कुनै प्रकारको प्रतिकुल प्रभाव पर्ने भएमा अबको ३५ दिनभित्र लिखितरूपमा राय/सुभाव दिन सम्बन्धित सरोकारवालामा आग्रह गरेको छ ।

प्रसारण लाइन अन्तर्गत परवानीपुर अहिले रहेकाे सबस्टेसनमा २ वटा १३२ केभी लाइन–वे विस्तार गरिनेछ । साथै, पोखरियामा १३२/३३ केभी सबस्टेसन निर्माण गरिनेछ । याे १३२ केभी सबस्टेसनमा ६३ एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मर जडान गरिनेछ । ३३/११ केभीमा ३० एमभिएका २ वटा पावर ट्रान्सफर्मर राखिनेछ ।

विद्युत प्राधिकरणले अध्ययनअनुसार प्रसारण लाइनको रुटमा ६२ वटा टावर निर्माण हुनेछन् । टावरहरूबीचको दुरी २ सय देखि ५ सय मिटर रहने अध्ययनले देखाएको छ ।

प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्न ४४.५८९४ हेक्टर जग्गा अधिग्रहरण गर्नुपर्नेछ । जस अन्तर्गत सबस्टेसन र प्रसारण लाइनको टावरका लागि ८.३७५ हेक्टर तथा बाँकी ३५.७१४४ हेक्टर प्रसारण लाइनको तारमुनीको जग्गा आवश्यक पर्नेछ ।

विद्युत नियमावली २०५० मा भएको व्यवस्था बमोजिम प्रसारण लाइनको तार मुनिको क्षेत्राधिकारमा दायाँ र बायाँ गरी ९/९ मिटर कायम हुनेछ । प्राधिकरणले यो प्रसारण लाइन र सबस्टेसन आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने तालिका तोकिएको छ । प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा आउँदा २५० मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।


Read Previous

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

Read Next

दुई लघुवित्तले घोषणा गरे लाभांश

Leave a Reply

Your email address will not be published.