चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले यसअघि दिउँसाेकाे समयमा दैनिक ४ घन्टा सवारी आवागमन राेकिने गरेकाे सडक खण्ड मकर संक्रान्ति पर्वका अवसरमा शनिवार र आइतबार नराेकिने भएकाे हाे ।
शनिबार सार्वजिनक विदा तथा आइतबार मकर संक्रान्ति पर्व परेका कारण सवारी आवागमन दिनभर सुचारु रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मकर सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढा-टाढाबाट आउने हुँदा सडक खण्ड पूर्णरूपमा सञ्चालन गर्न लागिएकाे हाे ।
यसअघि गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्डमा सवारी आवागमन रोकेर काम गरिँदै आएको छ । सवारी रोकेर काम गर्दा प्रभावकारी भएको सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले बताए ।
साे सडक खण्डमा निर्माणाधीन ५ वटा पुलमध्ये ३ वटाको भित्तो काट्ने काम सकिएको छ । कार्कीका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो ।
चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।
यी पुलसँगै काम थालिएका ९ पुलकाे निर्माण पूरा भइसकेकाे छ । यसअघिनै सो सडक खण्डका ५ पुल बनिसकेका थिए । ५ वटा पुल निर्माणाधीन छन् ।