Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा


ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रकाे विद्युतीकरण अहिले पनि लघु तथा साना जलविद्युत आयाेजनाले उत्पादन गर्ने विद्युतकाे भरमा भइरहेकाे छ । राष्ट्रिय प्रसारण प्रणालीकाे पहुँच विस्तार भइनसकेकाे हुँदा जिल्लाकाे ग्रामीण क्षेत्र लघु तथा साना जलविद्युत आयाेजनाले उत्पादन गर्ने विद्युतकाे भरमा पर्नु परेकाे हाे ।

नेपाल विद्युत प्राधिकरणले भाैगाेलिकरूपमा विकट गाउँहरूमा राष्ट्रिय प्रसारण पुर्याउन सकेकाे छैन । प्राधिकरणले अघिल्लो वर्ष मात्रै बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पुर्याउन सकेकाे छ ।

हिउँदमा जसाे तसाे चल्ने यहाँका लघु तथा साना जलविद्युत आयाेजना बर्खा लागेपछि भने बन्द हुन्छन् । कहिले पहिराले नहर भत्काउँदा तथा  कहिले बाढीले मुहान बगाउँदा बर्खामा स्थानीयबासी अन्धकारमा बस्नु पर्ने बाध्यता छ ।

बर्खामा लघु तथा साना जलविद्युत आयाेजना बन्द हुँदा ३ महिना टुकीकाे भरमा बस्नु पर्ने अवस्था रहेकाे स्थानीय बताउँछन् । पश्चिम बागलुङ मात्रै नभई जिल्ला सदरमुकामसँग जोडिएका केही गाउँमा पनि अवस्था उस्तै छ ।

लघु जलविद्युतको खपत बढ्दै जाँदा घरेलु तथा साना उद्योगहरू पनि सञ्चालनमा समस्या आउने गरेको छ । ग्रामीण क्षेत्रका लघु जलविद्युतको क्षमता ८० देखि १५० किलोवाटसम्म मात्र छ । जसले गाउँमा साना उद्योग सञ्चालनमा समस्या हुने गरेको हो ।

गत असोज अन्तिम साता पहिरोले विद्युतगृहमा क्षति पुर्याएपछि निसीखोला लघु जलविद्युत आयोजना १० गतेसम्म बन्द भयो । झण्डै ३ महिना विद्युत उत्पादन  बन्द हुँदा यहाँका घरेलु उद्योग सञ्चालकहरू समस्यामा परेको स्थानीय लिलाबहादुर घर्ती मगरले बताए ।

उनले स्थानीयले विद्युतीय मेसिनबाट उनको कपडा बुन्दै आएकोमा ३ महिना विद्युत सेवा अवरुद्ध हुँदा लगानीकर्ताले लाखौँको नोक्सानी बेहोर्नु परेको बताए । “दसैँ अगाडिदेखि बन्द भएको विद्युत सेवा बल्ल सुचारु भएकाे छ,” उनले भने, “यतिका महिना अन्धकारमा बस्यौँ, हामीले सञ्चालन गरेका उद्याेग पनि बन्द हुँदा लाखौँका सामानको माग आएको थियो । त्याे पूरा गर्न सकिएन ।”

उनले कच्चा पदार्थ जम्मा गरेर काम्लो, हापदुला (भेँडाको रौँबाट बनाइएको कपडा) बनाउने तयारी गरिएकाेमा विद्युत अभावमा काम नहुँदा ठूलाे आम्दानी गुमाएकाे बताए । मगरले पहिले अर्डर दिने ग्राहकले समयमा सामान नपाएपछि उनीहरूले अन्तैबाट खरिद गरेका कारण घाटा लागेकाे दुखेसाे पाेखे ।

उनले विद्युतकाे खपत बढ्दै गएकाले अब लघु जलविद्युतकाे भरमा मात्रै ग्रामीण भेगकाे माग व्यवस्थापन नहुने बताए । ग्रामीण क्षेत्रकाे  विद्युतीकरण दिगाे र गुणस्तरीय बनाउन त्यस क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच नै पुर्याउनु पर्ने आवश्यकता रहेकाे उनले बताए ।

राष्ट्रिय प्रसारण प्रणाली विस्तार नभएसम्म अन्धकारमा बस्नुपर्ने नियती दोहोरिइरहने घर्ती मगरको भनाइ छ । सरोकारवाला निकायलाई पटक–पटक केन्द्रीय लाइन विस्तारका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको उनले गुनासो गरे ।

ढोरपाटन नगरपालिका–९ का कुलबहादुर विकले आफूहरु वर्षौंदेखि अन्धकारमा बस्दै आएको बताए । बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ बस्ने विकले ढोरपाटनमा बस्दा दियालो र टुकीको भरमा रात कटाउनु पर्ने अवस्था रहेकाे बताए ।

अहिलेसम्म ढोरपाटनमा विद्युत नपुग्दा सञ्चारको पहुँचबाट टाढा हुनु परेको विकको भनाई छ । सरकारले अहिले बल्ल ढोरपाटनमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारका लागि पोल व्यवस्थापन गर्न थालेको छ ।

“अहिलेको युग सूचना र प्रविधिको युग हो । बोबाङमा बस्दा त मोबाइल सामाजिक सञ्जाल चलाउन पाइन्छ । रेडियो, टेलिभिजनबाट देश विदेशका सूचना समाचारहरु सुन्न र हेर्न पाइन्छ । ढोरपाटनमा बस्दा अन्धकारमा गुमनाम जस्तै भइन्छ,” विकले भने “ढोरपाटनका केही ठाउँमा  बिजुली बलेको  त छ । तर, हामी बस्ने ठाउँमा अहिलेसम्म त्यो सुविधा पुगेको छैन, दुई/चार वर्षमा त पुग्छ कि ? ।”

तमानखोला गाउँपालिका–४ का पूर्ण सिर्पालीले लघु जलविद्युत आयोजनाले गाउँमा बत्ति बाल्न बाहेक अरु काम गर्न नसकिने बताए ।  यहाँ वितरित लघु जलविद्युतकाे गुणस्तरीय र दिगाे छैन । भाेल्टेजमा समस्या हुँदा  कुटानी पिसानीका लागि मिल सञ्चालन गर्न समस्या भएको सिर्पालीले बताए ।

 उनले खाना पकाउन र साना उद्योगका लागि गाउँमा सञ्चालित विद्युतले थेग्न नसक्ने भन्दै राष्ट्रिय प्रसारण प्रणाली आवश्यता परेको बताए ।  “गाउँ ठूलो छ, विद्युत उपयाेग  गर्ने जनसङ्ख्या पनि धेरै छ, तर उत्पादन क्षमता कम छ । त्यसले गर्दा यहाँ भएको विद्युतबाट बत्ति बाल्नेबाहेक धेरै काम गर्न सक्ने अवस्था छैन । राइस कुकरमा भात पकाउन पनि सकिँदैन” सिर्पालीले भने ।

विद्युतकाे राम्राे व्यवस्थापन नहुँदा साना उद्योग सञ्चालन गर्न तथा ढाका उद्योग सञ्चालन समस्या भएकाे पनि उनले बताए । विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाको १० वटै पालिकामा विद्युत पुर्याउन काम गरिरहेकाे बताए । उनले राष्ट्रिय प्रसारण प्रणालीमा अहिलेसम्म नजोडिएको पालिका तमानखोलामा विद्युत पुर्याउन वितरण प्रणाली विस्तार भइरहेकाे बताए ।

बुर्तिबाङ बजारदेखि नजिकै रहेका निसीखोला र तमानखोलामा राष्ट्रिय प्रसारण लाइन तीव्र गतिमा विस्तार भइरहेको मरासेनीको भनाइ छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका केही वर्ष पहिलेनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकाको केही गाउँहरुमा गत वर्ष मात्रै केन्द्रीय लाइन पुगेको थियो । यसवर्ष निसीखोला गाउँपालिका–७ को भाँजा र चोलाङमा लाइन पुर्याएको प्रमुख मरासेनीले बताए ।

“बागलुङका केही ठाउँमा अहिलेसम्म केन्द्रीय लाइन पुगेको छैन, तर ती ठाउँमा स्थानीय हाइड्रो मार्फत विद्युत सेवा लिनुभएको छ, भौगोलिक विकटता र सीमित बजेटका कारण सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन” उनले भने, “यो वर्ष धेरै ठाउँमा काम गर्न थालेका छौं, पश्चिम बागलुङका गाउँहरूमा अब राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुर्याउन बजेटका लागि केन्द्रमा पहल थालेका छौं ।”

उनले बागलुङ सदरमुकाम नजिकका अधिकांश गाउँमा केन्द्रीय लाइन पुगिसकेको दाबी गरे । पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेसन निर्माण गरेर पुनः सञ्चालन गरेको भन्दै बुर्तिबाङमा पनि १३२ केभी सबस्टेसन निर्माण गरिने उनले बताए । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म राष्ट्रिय प्रसारण प्रणाली पुर्याउने गरी काम तीव्र रुपमा भएको उनले जानकारी दिए ।

“दूर दराजका गाउँसम्म विद्युतीकरणका लागि हामी तीव्ररूपमा लागेका छौं, कतिपय ठाउँमा अब केही समयमै बत्ति बल्छ भने यो आर्थिक वर्ष सकिने बेलासम्म ढोरपाटनमा पनि केन्द्रीय लाइन पुग्नेछ, अहिले त्यसका लागि पोल गाड्ने, लाइन तान्ने काम भएका छन्, यता जैमिनी र बरेङ गाउँपालिकाका केही गाउँमा लाइन पुगेको छैन, ती गाउँमा पनि यसै वर्ष पुग्छ ” उनले भने ।

मरासेनीका अनुसार बागलुङमा ९८ प्रतिशत विद्युतीकरण भइसकेकाे छ । जिल्लामा अहिले ९८ वटा लघु जलविद्युत सञ्चालनमा छन् । जिल्लाको निसीखोला गाउँपालिका-६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत तथा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न सकेको छैन । यहाँका स्थानीय टुकीकाे भरमा बस्न बाध्य छन् ।


Read Previous

ठमेल क्षेत्रबाट विद्युती पोलमा गुजुल्टिएको ४८ ट्रक तार तथा उपकरण निकालियो

Read Next

जैविक फोहोरबाट विद्युत, ग्यास तथा एसिड उत्पादन गर्न अनुसन्धान सुरु

Leave a Reply

Your email address will not be published.