Nepal Purbadhar

नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो


चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्राङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि भत्काउन सुरु गरिएको छ ।

सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उनको भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या १ सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिए ।

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैँले भत्काउन लागेको हो ।


Read Previous

दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

Read Next

९ करोड लागतमा काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु