Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

प्राधिकरणले १५० मेगावाटको जवा तिला आयोजना निर्माण गर्ने


काठमाडौं । कोहलपुरदेखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्यत् आयोजना वर्षमा पटक पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् ।

यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै १५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी गरेको हो ।

जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए ।

प्राधिकरणको गत मङ्सिर २१ गतेको सञ्चालक समितिको बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ । तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा १ सय मेगावाट र पूर्ण क्षमतामा जाँदा १५० मेगावाट बराबर रहनेछ ।

प्रारम्भिक अनुमानमा आयोजनाको कूल लागत ३५ अर्ब रुपैयाँ राबर रहनेछ । क्षमता तलमाथि हुँदा लागतमा पनि परिवर्तन हुनेछ । जुम्लाको तिला गाउँपालिकामा आयोजनास्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ ।

प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्र लगायतको प्रक्रियामा अगाडि बढिसकेको छ । आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ । जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै होइन, मुलुकका लागि विजुली निर्यातमा समेत सहयोग पुग्ने पूर्व मन्त्री भण्डारीको भनामइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजना प्रारम्भिक अध्ययनका आधारमा उपयुक्त देखिएकाले प्राधिकरणले निर्माण गर्ने गरी निर्णय भएको बताइन् । परियोजनाको पहलकर्तासमेत रहनुभएका पूर्वमन्त्री भण्डारीले आयोजना निर्माणपछि जुम्लाको समग्र आर्थिक अवस्थामा सुधार हुने र खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग हुने बताए ।

अध्ययन अनुसार कर्णाली प्रदेशमा हालसम्म १८ हजार मेगावाट क्षमताका आयोजना पहिचान भएका छन् । त्यसमध्ये ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको चर्चा सुरु भएको लामो समय भए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन । लगानी बोर्डले भारतीय प्रर्वद्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) लाई वित्तीय व्यवस्थापन गर्न सर्तसहित समय थप गरे पनि पछिल्ला दिनमा देखिने गरी प्रगति हुनसकेको छैन ।

यस्तै, मुगुमा रहेको १ हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको एनइए इञ्जिनियरिङ कम्पनीले विस्तृत इञ्जिनियरिङ अध्ययन गरिरहेको छ । यसबाहेक ४२६ मेगावाट क्षमताको फुर्कोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया पूरा भएको छ । अर्धजलाशययुक्त प्रकृतिको सो आयोजना निर्माणमा जाने तयारीमा छ ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना तथा त्यसको सञ्चालनलगायतका महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वमन्त्री भण्डारीका अनुसार जुम्लाले यतिबेला चिकित्सक उत्पादन गरेर दिए जस्तै जवा तिला आयोजनाको निर्माणपछि बिजुली पनि दिन्छ । सोहीअनुसार आवश्यक प्रक्रियामा लागेको र चाडैं निर्माणमा जाने उनको भनाइ छ । रासस


Read Previous

पर्यटन प्रवर्द्धन गर्न कालिका-विन्ध्यवासिनी साइकलयात्रा   

Read Next

महासंघका उद्योग उपसमिति सभापति आचार्य प्राधिकरणको सञ्चालक नियुक्त

Leave a Reply

Your email address will not be published.