Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक


बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् ।

मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा २ वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो ।

यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ ।

कार्यालयले पहिरो नियन्त्रणका लागि १ करोड ३१ लाख ७७ हजार ८३७ रुपैयाँको लगत अनुमान गरेको छ ।

गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाए पनि बजेट ४ लाख मात्रै विनिय, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले बताए । सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न नसकिएको उनको भनाइ छ ।

वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ ।बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुने गरेको बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले बताए ।

पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुने गरेको उनको भनाइ छ । पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले २ वर्षमा १० लाख खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ ।

विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ ।

कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताए ।

पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ ।

पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । अर्थमन्त्रीसँग सिधा संवाद गरेको र हिउँदमा काम हुने वातावरण बन्ने उनको विश्वास छ ।

सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्डखण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ ।

मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताए ।

बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो ।उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । बीचमा परेको बाटो नबन्दा दुःख पाएको शर्माको भनाइ छ ।

यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०/५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताए । रासस


Read Previous

बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

Read Next

‘सरकारी कार्यालयकाे कोठा-कोठा धाएर सेवा लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नैपर्छ’

Leave a Reply

Your email address will not be published.