Nepal Purbadhar

नागढुङ्गा सुरुङमार्ग निर्माण ७० प्रतिशत पूरा, वित्तीय प्रगति साढे ४८ प्रतिशत बढी


काठमाडौं । नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य ७०.२० प्रतिशत पूरा भएको छ । कुल निर्माण गर्नुपर्ने ५.४९९ किलोमिटर सुरुङकाे काम सम्पन्न गर्न करिब ३० प्रतिशत मात्र बाँकी छ ।

बुधबार (मंसिर २१ गते) सम्मको विवरण अनुसार ३.८५९ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको आयोजनाका सहनिर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिए ।

कुल निर्माण गर्नुपर्ने सुरुङमध्ये मुख्य सुरुङकाे लम्बाइ २.६८८ किलोमिटर छ । त्यसमध्ये  १.७११ किलोमिटर सम्पन्न भएकाे छ । त्यस्तै, इभ्याकुएशन टनेल २५५७ मिटरमध्ये १९४८.१० मिटर सम्पन्न भएकाे छ । वर्किङ अडिट कुल १२६ पूरै सम्पन्न भएकाे छ भने क्रस प्यासेज १२८ मिटरमध्ये ७४.२० मिटर सम्पन्न भएकाे छ ।

‘मुख्य सुरुङमा पूर्व (काठमाडौं) र पश्चिम (धादिङ) गरी दुवैतर्फबाट काम भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्मको प्रगतिअनुसार पूर्वी भागबाट ८३२.२० मिटर र पश्चिमतर्फबाट ८७८.८० मिटर मुख्य सुरुङ खनिएको छ ।’

उनले आयोजनाको २.५५७ किलोमिटर लामो निकास सुरुङ १.९४८ किलोमिटर खनिएको बताए । खनेर सकिएको सुरुङमा ढलान (कंक्रिट लाइनिङ) गर्ने कार्य ३३.७० प्रतिशत सम्पन्न भएको छ । खनिएको भागमा अहिलेसम्म ९४६.६० मिटर सुरुङमा ढलान सकिएको छ ।

यस्तै, आयोजना अन्तर्गत सडक निर्माण कार्य ७७.८० प्रतिशत तथा तटबन्ध भर्ने कार्य ६२.४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

सुरुङ मार्ग  आयोजनाको कुल भौतिक प्रगति ४६.२६ प्रतिशत तथा वित्तीय प्रगति ४८.८३ प्रतिशत सम्पन्न भएको अधिकारीले बताए ।

सुरुङमार्गको अडिट सुरुङको काम पहिले नै पूरा भइसकेको छ । सुरुङमार्गमा ३ वटा अण्डरपास निर्माण गर्नुपर्नेमा सबै काम सम्पन्न भइसकेको छ । ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुलको निर्माण कार्य पनि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

एउटा फ्लाइओभर निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ । फ्लाइओभरको ५ मध्ये २ वटाको जग तयार गरिएको छ । २ वटामा संरचना निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजनाले हरेक महिना सुरुङमार्गकाे प्रगति विवरण सार्वजनिक गर्ने गरेकाे छ ।


Read Previous

काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग

Read Next

पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव