Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  


भरतपुर । घर टहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डमा  पर्ने पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५  मध्ये ९ वटा पुल छेउमा रहेका घर टहराको क्षतिपूर्ति वितरण हुन नसक्दा निर्माणमा ढिलाइ हुन पुगेकाे हो ।

पुल छेउका घर टहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घर टहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनु पर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए ।

“सडकखण्डमा पर्ने पुल आसपासका घरको रु ५० हजारदेखि रु सात लाखसम्म क्षतिपूर्ति दिनुपर्ने छ”, उनले भने, “क्षतिपूर्तिका लागि १ करोड २५ लाख रुपैयाँ माग गरेका छौं ।” उनले गत वर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको बताए ।

“यस वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्ने छ, त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौं” कार्कीले भने । तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए ।

“कतिपय स्थानको छेउछाउमा घरटहरा भए पनि बिचमा काम गरिरहेका छौँ”, कार्कीले भने, “स्थानीयसँग आपसी सहमति गरेर भए पनि काम गरेका छौं।” स्थानीयले क्षतिपूर्तिका लागि दैनिक अनुरोध गर्ने गरेको पनि उनले बताए ।

कार्कीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाने पहिलो पुलमा जग खन्ने बित्तिकै घरटहरा भत्किने भएका कारण क्षतिपूर्ति नदिँदासम्म काम सुरु गर्न सकिएकाे छैन । नाम्सी, रिद्धीखोला, खहरे, खोर, लामो बालुवा, भोर्ले र सिमलताल पुलका छेउमा रहेका घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने आयोजनाले जनाएको छ । निर्माण पूरा भएका पुल नजिकै सडकमा जोडिएका घर टहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन । उक्त क्षतिपूर्ति सरकारले दिनुपर्ने छ । सरकारले त्यसका लागि बजेट निकासा गरेको छैन । आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तिहारपछि पुल निर्माण धमाधम भइरहेका छन् ।

आयोजना प्रमुख कार्कीले १५ मध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेकाे बताए । १९ पुलमध्ये ४ वटा यसअघि नै निर्माण सम्पन्न भइसकेका छन् । पछिल्लोपटक १५ पुल निर्माणका लागि २ प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो ।

५ पुल निर्माणको काम अन्तिम चरणमा रहेको र घरटहराको क्षतिपूर्ति दिलाउन सके ३ महिनाभित्र ७ पुल निर्माण सम्पन्न हुने कार्कीले बताए । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । सडक खण्डअन्तर्गतका पुललाई २ भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल पर्दछन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी ७ पुल छन् ।

प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

कार्कीका अनुसार प्याकेज–१ का ७ वटा पुलकाे लम्बाइ ४ सय ४२ मिटर छ । प्याकेज–२ का ८ वटा पुल ३ सय ८१ मिटर लामा छन् । पुलको गाडी गुड्ने ठाउँ ७.५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १.५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ ।

दुवै ठेक्का एउटै कम्पनीले पाएकाे छ । १५ वटा पुलका लागि २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी ‘अनक कन्स्ट्रक्सन’ले ठेक्का लिएको थियो । तर, सम्झौताको म्याद सकिन अब २ महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ ।


Read Previous

क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित

Read Next

अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारकाे सैद्धान्तिक स्वीकृति   

Leave a Reply

Your email address will not be published.