Nepal Purbadhar

विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना


काठमाडौं । विद्युत उत्पादनमा पेट्रोलियम ऊर्जाको उपयोग गर्ने कतारले पहिलो पटक ८ सय मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरेको छ । कतारले आउँदै गरेको विश्वकप फुटबल आयोजना हुने रंगशालाको विद्युत माग व्यवस्थापन गर्ने उद्देश्यले यति ठूलाे सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

राजधानी दोहाबाट ८० किलोमिटर पश्चिम अल–खरसाहमा मध्य पूर्वकै ठूलो सौर्य विद्युत आयोजना निर्माण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइए अनुसार यो सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत विश्वकप फुटबल प्रतियोगिता हुने रंगशालामा वितरण गरिनेछ ।

यो सौर्य विद्युत आयोजना गत जुनबाट सञ्चालनमा आए पनि हालै मात्रै यसको औपचारिक उद्घाटन गरिएको हो । यो सौर्य विद्युत आयोजनाले कतारको कूल विद्युत मागको १० प्रतिशत माग धान्ने त्यहाँका ऊर्जा मन्त्री साद शेरिदा अल–काबीले बताए ।

उनका अनुसार यो सौर्य विद्युत आयोजनाले २ करोड ६० लाख टन कार्बन उत्सर्जन न्युनिकरण गर्न पनि योगदान पुर्याउनेछ । मरुभूमिमा निर्मााण गरिएको यो सौर्य विद्युत आयोजनामा १८ लाख वटा सौर्य ऊर्जा प्यानलहरू जडान गरिएका छन् ।

कतारले सन् २०१६ बाट यो सौर्य विद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको थियो । ४६ करोड ७० लाख अमेरिकी डलरमा सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भएको कतार सरकारले जनाएको छ ।

स्वच्छ ऊर्जाको उपयोग हुँदा अरब देशले आयोजना गर्ने यो  ‘नेट जिरो’ विश्वकप फुटबल प्रतियोगितामा हुने समाचारमा जनाइएको छ । कतारले सन् २०३५ भित्र ५ हजार मेगावाट सौर्य विद्युत विद्युत प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखेको छ ।


Read Previous

तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

Read Next

ट्र्याक खुलेकाे २३ वर्षपछि रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्र