
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । विश्व प्रहरी सम्मेलनमा सहभागी हुन दुबई पुगेका मन्त्री गुरुङले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद जेयुदीसँगको भेटमा उक्त आग्रह गरेका हुन् ।
नेपाली दूतावासका अनुसार भेटका क्रममा मन्त्री गुरुङले नेपालमा जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा लगानीका लागि यूएई सरकार र त्यहाँका लगानीकर्तालाई आग्रह गरेका थिए ।
विशेषगरी १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न उनले यूएई सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री गुरुङको गृहजिल्ला गोरखामा निर्माण प्रस्ताव गरिएको यो आयोजना सम्पन्न गर्न ४ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने अनुमान छ ।
भेटमा नेपाल र यूएईबीच प्रविधि, लजिस्टिक्स तथा हवाई कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो । आयोजना निर्माणले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नुका साथै ऊर्जा सुरक्षा र आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


