
काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउने भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठकमा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर छलफल गरिएको हो।
मन्त्री सिता बादीको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालित कार्यक्रमको प्रगति, बजेट कार्यान्वयनको अवस्था तथा कार्यक्रम सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे छलफल भएको थियो।
बैठकमा मन्त्रालयका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नीतिगत तथा कानुनी जटिलता हटाउने, विभिन्न निकायबीचको समन्वय बलियो बनाउने र सेवा प्रवाहमा देखिएका अवरोध समाधान गर्ने विषय उठाइएको थियो। विशेषगरी महिला सशक्तीकरण, बाल संरक्षण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
यस क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीको अवस्थाबारे पनि समीक्षा गरिएको थियो।
त्यस्तै, विपद्का समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, संरक्षण, राहत र मनोसामाजिक सहयोगलाई व्यवस्थित बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको विषयमा छलफल भएको थियो। अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्थासमेत समीक्षा गरिएको थियो।
बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो। बैठकले सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्दै नीतिगत सुधार र अन्तरमन्त्रालय समन्वयमार्फत मन्त्रालयका कार्यक्रमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ।


