Nepal Purbadhar

दशैं नजिकिँदै गर्दा कलंकी खसीबजार सुनसान, व्यापारमा मन्दी


काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा ग्राहकको चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा अपेक्षाकृत कम भीड देखिएको छ। विगतका वर्षमा दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको घुइँचो लाग्ने बजारमा यसपटक भने व्यापार सुस्त रहेको व्यापारीहरूले बताएका छन्।

कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीले यस वर्ष बजारमा ग्राहकको उपस्थिति न्यून रहेको बताए। उनका अनुसार खसीबोकाको आपूर्तिमा ठूलो समस्या छैन, तर गत वर्षको तुलनामा मूल्य बढेको छ।

कलंकी खसीबजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटीलगायतका जिल्लासँगै उदयपुरबाट समेत खसीबोका ल्याउने गरिन्छ। विभिन्न जिल्लाबाट खसीबोका बजारमा भित्रिए पनि ग्राहकको चहलपहल भने विगतका वर्षको तुलनामा कम रहेको थापा क्षेत्रीले बताए।

व्यापारीहरूका अनुसार हाल बजारमा खसीको मूल्य प्रतिकिलो ७८० देखि ८६० रुपैयाँसम्म छ। गत वर्षको तुलनामा मूल्य बढेकाले उपभोक्तालाई दशैंका लागि खसी खरिद गर्दा बढी खर्च गर्नुपर्ने भएको छ।

दशैंमा मासुको खपत बढ्ने र खसीबोकाको कारोबार उच्च हुने अपेक्षा गरिए पनि बजारमा ग्राहकको उपस्थिति कम हुँदा व्यापारीहरू निराश देखिएका छन्। यद्यपि, दशैं नजिकिँदै जाँदा आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा उनीहरूले गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

उर्जा मन्त्रीले सार्वजनिक गरे छ महिनामा गरेका १३७ कामको फेहरिस्त

Read Next

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा, एलओआई दिने सरकारको योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar