
काठमाडौं। बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन घर जाने यात्रुको संख्या बढेपछि कलंकीलगायत उपत्यकाका प्रमुख नाका र बसपार्कमा चहलपहल बढेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा १ लाख ९ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन्। उपत्यका छाड्नेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन्।
प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना यात्रु बाहिरिएका थिए। असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
दशैं मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेपछि उपत्यकाका नाकामा यात्रुको चाप बढेको हो। यात्रुहरू परिवार र आफन्तसँग चाडपर्व मनाउन आवश्यक सामानसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।
उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुंगा–थानकोट, साँगा र दक्षिणकालीलगायतका नाकामा देखिएको छ। प्रहरीको तथ्यांकअनुसार नागढुंगा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ जना र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्।
दशैंका लागि गाउँ फर्किनेको संख्या बढेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चापसमेत बढ्न थालेको छ। यात्रुको आवागमन सहज बनाउन र यात्राका क्रममा हुन सक्ने ठगी नियन्त्रण गर्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको जनाएको छ।
प्रहरीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था बुझ्न आग्रह गरेको छ। टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्न सहायता कक्षमार्फत निगरानी भइरहेको प्रहरीले जनाएको छ।
दशैं नजिकिँदै जाँदा काठमाडौं छाड्ने यात्रुको संख्या थप बढ्ने अपेक्षा गरिएको छ। लामो दूरीको यात्रा गर्ने यात्रुले अग्रिम टिकटको व्यवस्था मिलाउन र सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

