
चितवन। लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ।
चितवनतर्फ मुग्लिन-मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ। धादिङ खण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

इच्छाकामना गाउँपालिका-४ धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन्। निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढेपछि उक्त क्षेत्रमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ।
त्यस्तै, इच्छाकामना गाउँपालिका-५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोबाट लगातार ढुंगा खसिरहेकाले सडकबाट पहिरो पन्छाउनसमेत समस्या भइरहेको छ।

सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।

तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

