Nepal Purbadhar

भोटेकोशी बाढी सामान्य बाढी नभई उच्च ऊर्जा भएको डेब्रिस फ्लो : प्रारम्भिक प्राविधिक विश्लेषण


नेपाल–तिब्बत (चीन) सीमाक्षेत्रको उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यसबाट हिमताल प्रणालीमा आएको विचलनका कारण भोटेकोशी नदीमा असामान्य जलप्रवाह उत्पन्न भएको प्रारम्भिक प्राविधिक विश्लेषणले देखाएको छ।

१६ दिनसम्म स्थलगत निरीक्षण तथा अध्ययन गरेपछि गरिएको प्रारम्भिक प्राविधिक विश्लेषणअनुसार बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यसबाट एकैपटक ठूलो मात्रामा पानी मुक्त हुनु रहेको देखिएको हो। त्यसरी अचानक मुक्त भएको पानीले नदी प्रणालीमा अत्यधिक ऊर्जा थप्दा उच्च वेगको आकस्मिक बाढी उत्पन्न भएको अनुमान गरिएको छ।

स्थलगत अध्ययनका क्रममा भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा बाढीको बहाव गति अत्यन्त उच्च रहेको पाइएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार सबैभन्दा माथिल्लो तटीय क्षेत्रमा बहावको गति करिब १८८ किलोमिटर प्रतिघण्टासम्म पुगेको अनुमान छ।

त्यस्तै, रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको क्षेत्रमा करिब ८३ किलोमिटर प्रतिघण्टा, स्याफ्रुबेसीदेखि बेत्रावतीसम्म करिब ६५ किलोमिटर प्रतिघण्टा, बेत्रावतीदेखि मलेखुसम्म करिब २९ किलोमिटर प्रतिघण्टा र मलेखुदेखि देवघाटसम्म करिब २३ किलोमिटर प्रतिघण्टाको बहाव गति रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।

२० अर्ब लिटर पानी र ठूलो परिमाणमा डेब्रिस

प्रारम्भिक अनुमानअनुसार बाढीका क्रममा नदी प्रणालीमा थपिएको पानीको मात्रा करिब २ करोड घनमिटर अर्थात् २० अर्ब लिटर रहेको छ। तर बाढीको विनाशकारी क्षमता पानीको मात्राका कारण मात्रै नभई पानीसँगै बगेको ठूलो परिमाणको डेब्रिसका कारण अझ बढेको देखिन्छ।

ढुङ्गा, माटो, लेदो, काठ, गिट्टी र बालुवासहितको डेब्रिसको मात्रा करिब २ करोड टन अर्थात् करिब १ करोड घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीपछि नदीको भू-आकृतिमा समेत ठूलो परिवर्तन आएको पाइएको छ। नदीको पुरानो सतह उल्लेखनीय रूपमा माथि उठेको देखिएको छ। तल्लो तटीय क्षेत्रमा नदीको पिँधको सतह कम्तीमा २ मिटरसम्म र माथिल्लो तटीय क्षेत्रमा करिब ८ मिटरसम्म उठेको अनुमान गरिएको छ। केही स्थानमा योभन्दा बढी सतह वृद्धि भएको पनि देखिएको छ।

स्थानीय तटीय क्षेत्रमा नदीका दुवै किनारतर्फ रहेको Deposit Zone मा करिब १५ मिटरसम्म लेदो र डेब्रिस थुप्रिएको पाइएको छ। तल्लो तटीय क्षेत्रमा समेत २ देखि ८ मिटरसम्म डेब्रिस थुप्रिएको प्रारम्भिक अध्ययनले देखाएको छ।

१५० मिटरसम्म पुगेको उच्च बाढी सतह

बाढीको High Flood Level (HFL) नदीको चौडाइ र आसपासको भू-आकृतिअनुसार फरक देखिएको छ। केही स्थानमा उच्च बाढी सतह ९० देखि १५० मिटरसम्म माथि पुगेको अनुमान गरिएको छ।

साँघुरा खोँचमा बाढीको ऊर्जा अत्यधिक केन्द्रित भएको देखिन्छ। नदी फराकिलो र तुलनात्मक रूपमा तल्लो तटीय क्षेत्रमा प्रवेश गर्दा उच्च बाढी सतह करिब २० देखि ३० मिटरसम्म पुगेको पाइएको छ।

विशेषगरी करिब १० डिग्री ढलान भएका क्षेत्रमा डेब्रिसको प्रवाह अत्यन्त शक्तिशाली रहेको देखिएको छ। ठूलो परिमाणमा बोल्डर र चट्टान बोकेको प्रवाहले साँघुरा खोँचलाई प्रभावकारी बहाव मार्गका रूपमा प्रयोग गर्दा प्रवाहको वेग र त्यसको क्षति पुर्‍याउने क्षमता अझ बढेको अनुमान गरिएको छ।

८० हजार घनमिटर प्रतिसेकेन्डसम्म Peak Discharge को अनुमान

इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा केही स्थानमा बाढीको बहाव तह ३० मिटरसम्म गहिरो रहेको र त्यसमा अत्यधिक ऊर्जा रहेको अनुमान गरिएको छ।

प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीको Peak Discharge अर्थात् अधिकतम बहाव करिब ५० हजारदेखि ८० हजार घनमिटर प्रतिसेकेन्डसम्म पुगेको हुन सक्ने अनुमान छ। यद्यपि यो प्रारम्भिक प्राविधिक अनुमान भएकाले थप विस्तृत मापन, मोडलिङ र अध्ययनपछि तथ्याङ्कमा परिमार्जन हुन सक्नेछ।

बाढीले करिब ३ मिटरसम्म आकारका ठूला बोल्डरसमेत बगाएको पाइएको छ। यस्ता बोल्डरको तौल करिब २५ टनसम्म हुन सक्ने अनुमान गरिएको छ। तीव्र गतिमा बग्ने यस्ता विशाल चट्टानले अत्यधिक गतिज ऊर्जा बोकेका हुन्छन्।

प्रारम्भिक प्राविधिक व्याख्याअनुसार यस्ता ठूला बोल्डरको ठक्करबाट करिब ३ मेगाजुलसम्मको ऊर्जा उत्पन्न हुन सक्ने र त्यसले जलविद्युत् आयोजनाका बाँध, पुल, भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउन सक्ने देखिन्छ। नदी किनारका संरचना र भू-भागमा समेत यसको प्रत्यक्ष प्रभाव परेको अध्ययनले देखाएको छ।

पानीभन्दा डेब्रिस र बहावको ऊर्जा महत्वपूर्ण

समग्रमा भोटेकोशीमा आएको बाढीलाई सामान्य नदी बाढीका रूपमा मात्रै बुझ्न नसकिने प्रारम्भिक प्राविधिक विश्लेषणले देखाएको छ। यो हिमपहिरोबाट उत्पन्न उच्च ऊर्जा भएको Debris Flow Impact अर्थात् ढुङ्गा, माटो र अन्य पदार्थसहितको तीव्र बहावको प्रभावका रूपमा विश्लेषण गर्नुपर्ने देखिन्छ।

यस्तो घटनाको प्रभाव मूल्याङ्कन गर्दा पानीको मात्रा मात्रलाई आधार बनाउनु पर्याप्त हुँदैन। बहावको गति, नदीको ढलान, भू-आकृति, डेब्रिसको मात्रा र आकार, नदीको वहन क्षमता तथा बाढीपछि नदीको पिँध र किनारमा आएको परिवर्तनलाई एकीकृत रूपमा विश्लेषण गर्न आवश्यक हुन्छ।

भोटेकोशी बाढीसम्बन्धी प्रस्तुत तथ्याङ्क तथा निष्कर्षहरू १६ दिनको स्थलगत निरीक्षण र अध्ययनमा आधारित प्रारम्भिक प्राविधिक मूल्याङ्कन हुन्। थप विस्तृत भू-आकृतिक सर्वेक्षण, जलविज्ञानसम्बन्धी तथ्याङ्क, उपग्रह तथा अन्य वैज्ञानिक अध्ययनबाट यस घटनाको वास्तविक कारण, बहाव, Peak Discharge र डेब्रिसको मात्रा अझ यकिन गर्न सकिनेछ।


Read Previous

कुलेखानी बाँध सुरक्षित, ढोका खोल्नुपर्ने अवस्था छैन- प्राधिकरण

Read Next

पृथ्वी राजमार्गमा सडक भासिँदा र पहिरो खस्दा आवागमन प्रभावित- तस्बिर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar