Nepal Purbadhar

भारी वर्षाको जोखिममा स्वास्थ्य संस्था तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह


काठमाडौं। असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो तथा अन्य विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।

त्यस्तै, बिरामी स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय गर्न र आवश्यकता अनुसार संघीय तथा प्रदेशस्तरीय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC/PHEOC) सँग समन्वय गर्न मन्त्रालयले अनुरोध गरेको छ।

सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक पूर्वतयारी र समन्वय गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

थप जानकारी तथा सहयोगका लागि मन्त्रालयको निःशुल्क हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिने जनाएको छ।


Read Previous

पत्रकारिताको विश्वसनीयता जोगाउन निर्मम आत्मसमीक्षा आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

Read Next

भारी वर्षाको पूर्वतयारीबारे ७७ जिल्लाका सीडीओसँग छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar