Nepal Purbadhar

पत्रकारिताको विश्वसनीयता जोगाउन निर्मम आत्मसमीक्षा आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्दै उनले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी सबै पत्रकारको भएको बताए।

उनले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर कस्तो पत्रकारिता र सञ्चार संस्था निर्माण गर्ने भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। स-साना समस्यालाई लिएर एकअर्कामाथि आरोप लगाउँदै सडकमा जानेभन्दा विधि, विधान र संस्थागत प्रणालीमार्फत समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए। लामो इतिहास र पर्याप्त भौतिक पूर्वाधार हुँदाहुँदै रेडियो नेपाल र नेपाल टेलिभिजन कमजोर अवस्थामा पुग्नुका कारण संस्थाभित्रै खोजिनुपर्ने उनले बताए।

उनले विगतका गलत अभ्यास सच्याएर संस्थागत सुधारका लागि सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड दिए।

पत्रकारको सुरक्षा पहिलो प्राथमिकता

मन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङ गर्ने पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। पत्रकारिता जोखिम मोल्नुपर्ने पेशा भए पनि अनावश्यक रूपमा जीवन जोखिममा पार्नु उचित नभएको उनको भनाइ छ।

उनले सुरक्षा सुनिश्चित गर्ने प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा जोखिमपूर्ण घटनाको रिपोर्टिङ गर्नुपर्ने अवस्था आउने भन्दै सम्भव भएसम्म सुरक्षाको ख्याल गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई आग्रह गरे।

पाँच पत्रकार पुरस्कृत

यस वर्षको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पाँच जना पत्रकारलाई प्रदान गरिएको छ।

जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल र कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन श्याम श्रेष्ठ पुरस्कृत भएका छन्।

त्यस्तै, जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जिर सिंह विकलाई पनि सम्मान गरिएको छ।

हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालदेखि हरेक वर्ष असोज ७ गते यो पुरस्कार प्रदान गर्दै आएको छ। २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा पत्रकार हेम भण्डारी र सुनिल सिंहको निधन भएको थियो।


Read Previous

भारी वर्षाको जोखिम र सरकारी तयारी, नदीको रियल टाइम निगरानीदेखि सुरक्षा निकाय परिचालनसम्म

Read Next

भारी वर्षाको जोखिममा स्वास्थ्य संस्था तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar