Nepal Purbadhar

असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन विद्युत प्राधिकरणको अपिल


काठमाडौं। आगामी केही दिनमा भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि नेपाल विद्युत प्राधिकरणले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार सामुद्रिक क्षेत्रमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण मौसमी वायु नेपाल प्रवेश गरिरहेको छ। यसको प्रभावले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

वर्षासँगै बाढी, पहिरो, चट्याङ, हुरीबतास तथा डुबानको जोखिमसमेत रहेकाले प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

सम्भावित प्रतिकूल मौसमका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन तथा विद्युत सेवा अवरुद्ध भएमा तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राधिकरणले आफ्ना कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ।

प्राधिकरणले प्रतिकूल मौसमका बेला आकस्मिक अवस्थाबाहेक घरबाहिर आवतजावत नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। घरमा रहेका विद्युतीय उपकरण प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

त्यस्तै, मौसम तथा विद्युत सेवासम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र सोहीअनुसार कामकाज गर्न प्राधिकरणले आग्रह गरेको छ।

विद्युत सेवा अवरुद्ध भएमा वा पोल, तार, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा प्राधिकरणको हटलाइन नम्बर ११५० मा सम्पर्क गर्न सकिने जनाएको छ।

स्थानीय नो-लाइट सेवाका नम्बरहरू भने प्राधिकरणको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको प्राधिकरणले जनाएको छ।


Read Previous

सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

Read Next

एआई डेटा सेन्टरको बढ्दो मागले अमेरिकाको विद्युत् पूर्वाधारमा दबाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar