
काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनस्थापनका लागि कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकको प्रेस विज्ञप्ति अनुसार, कुल सहयोग रकममध्ये बैंकको तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गरिएको बैंकले जनाएको छ।
विपत्तिको यस कठिन घडीमा सरकार र सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै मानवीय कार्यमा ऐक्यबद्धता जनाएको बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएका नागरिकहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
