
काठमाडौं । कामना सेवा विकास बैंक र बैंकका कर्मचारीले रसुवाका बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको हो। बाँकी १५ लाख रुपैयाँ भने बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट संकलन गरिएको बैंकले जनाएको छ।
बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहायता र सामाजिक हितका कामलाई निरन्तरता दिने जनाएको छ।
बैंकले बाढी तथा अन्य प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनका लागि शुभेच्छा व्यक्त गरेको छ।
उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगी सबैप्रति बैंकले आभार व्यक्त गरेको छ।
