
चितवन। तिब्बतबाट रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ ओटा शव भेटिएका छन्।
कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्म विभिन्न स्थानमा ती शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्। उनका अनुसार बुधबार साँझ ६ बजेसम्म १८ ओटा शव र १२ ओटा हातखुट्टा भेटिएका छन्।
सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बाढीले बगाएर ल्याएका शव निकाल्ने काम गरिरहेको छ। बाढीको बहावसँगै शवहरू चितवनतर्फ आएको प्रजिअ अर्यालले बताए।
बाढीको बहाव नारायणगढसम्म आइपुग्दा पानीको सतह खतरा तहमा भने नपुगेको उनले जानकारी दिए। उनका अनुसार चितवन बाढीका कारण तत्काल जोखिममा छैन। उनले सर्वसाधारणलाई नदीमा बगेर आएका सामान तान्न नजान तथा शव देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेका छन्।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा पानीको बहाव घट्न थालेको छ। देवघाटमा नौ मिटर पानीको सतह पुगेपछि खतरा मानिन्छ। बुधबार ६.८० मिटर पुगेको पानीको सतह घट्न सुरू भएको उनले जानकारी दिए।
नदीको सतह घट्न थालेकाले तत्कालका लागि खतरा टरेको अधिकारीले बताए।
यसैबीच, बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैदेखि सवारी आवागमन रोकिएको थियो। पोखरातर्फ जाने सवारीसाधन भने पठाउन सुरू गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएका छन्।
नारायणी नदीमा बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै बुधबार दिउँसो नदी आसपासका विद्यालयसमेत बन्द गरिएको थियो। नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरी सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो।
