Nepal Purbadhar

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा


काठमाडौँ। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।

जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो। बडीमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउन सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरेका थिए। सञ्चारमन्त्रीले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो। सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको थियो।

बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको छ। नेपाल टेलिकमका अनुसार टावर भने करिब ४ हजार २३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको हो।

अत्यन्तै विकट तथा उच्च हिमाली भूगोलमा टावर स्थापना गर्न प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा काम गरेको थियो। बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम रहेको भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले बताए।

बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको थियो। प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने योजना रहे पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिला सेवा सञ्चालनमा आएको हो।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ। त्यसअन्तर्गत देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर–जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ।

यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर–जी सेवा भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा फोर–जी सेवा विस्तार भएसँगै सिँजा क्षेत्रको सञ्चार पहुँच थप सहज भएको छ।

त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ। यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३ हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।

त्यसैगरी ताप्लेजुङको ओलाङचुङगोलामा करिब ३ हजार ४०० मिटरको उचाइमा पनि फोर–जी सेवा सञ्चालनमा आएको छ। उच्च हिमाली तथा दुर्गम क्षेत्रमा सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक, तीर्थयात्री तथा सुरक्षा र उद्धारमा खटिने निकायलाई समेत सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि बढाएको छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो।

नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित स्थल निर्माणको प्रक्रिया अघि बढाइएको छ। नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारबाट ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ।


Read Previous

‘कामु’मै अल्झियो प्राधिकरण : एमडी नियुक्ति ढिलाइले उठ्यो सरकारमाथि प्रश्न

Read Next

नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छ : सांसद अग्रवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar