
default
काठमाडौं। एक समय नेपालकै प्रमुख मार्बल उद्योगका रूपमा परिचित ललितपुरको गोदावरी मार्बल इन्डष्ट्रिज अहिले खण्डहरमा परिणत भएको छ। उद्योग बन्द भएको एक दशक बितिसक्दा पनि त्यहाँका भवन, मेसिन तथा पूर्वाधार प्रयोगविहीन अवस्थामा छन् भने उद्योग पुनः सञ्चालन हुने सम्भावना पनि क्षीण देखिएको छ।
गोदावरी मार्बलका पूर्वकर्मचारी रामानन्द चौधरी उद्योग बन्द भए पनि आजसम्म त्यही परिसरमा भेटिन्छन्। २०७२ साल वैशाख ३ गते सर्वोच्च अदालतले वातावरणीय प्रभावलाई आधार बनाएर उद्योग सञ्चालनको अनुमति खारेज गरेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
२०२३ सालमा स्थापना भएको गोदावरी मार्बल उद्योग नेपालकै मार्बल उत्पादनको इतिहासमा महत्वपूर्ण उद्योग मानिन्थ्यो। २०४५ सालदेखि उद्योगमा कार्यरत चौधरीका अनुसार उद्योग साताको छ दिन चौबीसै घण्टा सञ्चालन हुन्थ्यो र उत्पादन गरिएको मार्बल भारतका साथै बंगलादेश र पाकिस्तानसम्म निर्यात हुने गर्थ्यो।
‘त्यतिबेला उत्पादनले भ्याइ–नभ्याइ हुन्थ्यो। अहिले उद्योग यसरी बन्द भएको देख्दा दुःख लाग्छ। वातावरण संरक्षण गर्दै सञ्चालन गर्ने विकल्प खोजिएको भए राम्रो हुन्थ्यो,’ उनले भने।
अर्का पूर्वकर्मचारी हेमबहादुर गुरुङका अनुसार उद्योग सञ्चालनका बेला दैनिक चारवटासम्म ट्रकले मार्बल ढुवानी गर्थे। अहिले भने मेसिन पुराना र जीर्ण भइसकेकाले पुनः सञ्चालन गर्न करोडौं रुपैयाँ खर्च लाग्ने अवस्था रहेको उनी बताउँछन्।
उद्योग बन्द भएपछि त्यहाँ रहेका अधिकांश भौतिक संरचना र उपकरण अलपत्र अवस्थामा छन्। न उद्योगीले ती पूर्वाधारको उपयोग गर्न सकेका छन्, न राज्यले त्यसको व्यवस्थापन गरेको छ।
यद्यपि गोदावरी मार्बल बन्द भए पनि नेपालमा खानी तथा खनिज क्षेत्रको सम्भावना भने कायमै रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार हालसम्म नेपालमा ६३ प्रकारका खनिज पहिचान भइसकेका छन्।
उनका अनुसार हाल २५ प्रकारका खनिजको अनुसन्धानका लागि १०४ वटा तथा १९ प्रकारका खनिज उत्खननका लागि १६७ वटा अनुमति जारी गरिएको छ। अहिले सबैभन्दा बढी चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको उनले बताए।
बाँस्कोटाले तामा तथा अन्य धातुजन्य खनिजमा निजी क्षेत्रको चासो बढ्दै गएको उल्लेख गर्दै धातुको अन्वेषण र प्रशोधनका लागि आवश्यक जनशक्ति तथा प्रविधि सरकारी निकायसँग पर्याप्त नभएकाले विदेशी संस्थासँग सहकार्य गर्नुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार धातुजन्य खनिजबाट प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने भएकाले ग्रेनाइट, डोलोमाइट, स्लेट ढुंगाजस्ता सहज रूपमा उत्खनन गर्न सकिने खनिजको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिन सके आयात प्रतिस्थापनमा योगदान पुग्न सक्छ।
उनले खानी तथा भूगर्भ क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि चुनौतीका रूपमा रहेको बताए। नेपालमा यस विषयको उच्च अध्ययन गर्ने पर्याप्त शैक्षिक संस्था नहुँदा विद्यार्थी विदेश जानुपर्ने र अध्ययनपछि धेरै जनशक्ति स्वदेश फर्कन नचाहने अवस्था रहेको उनको भनाइ छ।




