
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख (चार्ज द’अफेयर्स एआई) बीच शुक्रबार ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारबारे छलफल भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दीर्घकालीन बनाउने विषयमा विस्तृत विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका, लगानी आकर्षित गर्ने वातावरण तथा ऊर्जा पूर्वाधारको आधुनिकीकरणका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्रालयका अनुसार उक्त भेटवार्ताले नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा विकसित हुँदै आएको साझेदारीलाई थप मजबुत बनाउने तथा स्वच्छ ऊर्जा, पूर्वाधार विकास र लगानी विस्तारमा सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
