
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले वर्तमान संसद गठनपछि यूएईबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यसले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र समझदारीमा आधारित सम्बन्ध कायम रहेको बताए।
सभामुख अर्यालले सन् २०२७ मा नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती मनाउन लागिएको उल्लेख गर्दै उक्त अवसरलाई उपलब्धिमूलक बनाउन नेपाल उत्सुक रहेको बताए। उनले हालै प्रतिनिधिसभाले यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै दुवै देशका संसदबीच अनुभव, विचार र असल अभ्यासको आदानप्रदानमा यसले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
भेटमा अर्यालले श्रम आप्रवासनको क्षेत्रमा यूएईलाई नेपालको विश्वसनीय साझेदारका रूपमा उल्लेख गर्दै करिब सात लाख नेपाली यूएईमा कार्यरत रहेको र उनीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
उनले यूएईलाई नेपालको प्रमुख व्यापारिक साझेदारमध्ये एक भएको उल्लेख गर्दै व्यापार असन्तुलन न्यूनीकरण, द्विपक्षीय व्यापार विस्तार र लगानी प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको धारणा राखे। पर्यटन क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यूएईका लगानीकर्ता र पर्यटकलाई नेपालमा आकर्षित गर्न आग्रह गरे।
सभामुख अर्यालले फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा रुटमा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति पाएकोमा खुशी व्यक्त गर्दै यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा योगदान पुग्ने बताए। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई उपलब्ध गराइने ‘फिफ्थ फ्रिडम राइट्स’ लगायतका सुविधाको उपयोग गर्न यूएईका वायुसेवा कम्पनीलाई प्रोत्साहन गरिदिन पनि आग्रह गरे।
उनले शिक्षा, विज्ञान तथा प्रविधि, नवप्रवर्तन, युवा तथा खेलकुद र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको फुटबल वा क्रिकेट रंगशाला निर्माणमा यूएईको सहयोगको अपेक्षा व्यक्त गरे।
भेटमा यूएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि नेपालमा आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि यूएई सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए।
मन्त्री अल जेयोउदीले यूएईको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल–यूएई सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशबीचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे। भेटमा मन्त्री अल जेयोउदीसहित १८ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो।
