
सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर।
सुर्खेत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
मन्त्री श्रेष्ठले शुक्रबार आयोजनाको बाँधस्थल रहेको भेरीगङ्गा नगरपालिकाको चिप्ले क्षेत्रमा निर्माणाधीन विभिन्न भौतिक संरचनाको अवलोकन गरे। निर्माणस्थलमै आयोजना सम्बन्धी प्रगति र बाँकी कामबारे सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल पनि गरिएको थियो।
मन्त्री श्रेष्ठले धेरैअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको यो आयोजना अब थप ढिलाइ नगरी सम्पन्न गर्ने उद्देश्यका साथ स्थलगत छलफल गरिएको बताए। आयोजनालाई नतिजामुखी रूपमा अघि बढाउन आवश्यक विषयमा सम्बन्धित निकायसँग विमर्श गरिएको उनको भनाइ छ।
आयोजनाका प्रमुख हरिदत्त पौडेलका अनुसार आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ। यसले कर्णाली प्रदेशमा विद्युत् मिटरको अभाव र सुर्खेतको लो-भोल्टेज समस्या समाधानमा पनि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
उनका अनुसार हाल माग गरिएका पाँच हजार विद्युत् मिटरमध्ये दुई हजार थान आपूर्ति भइसकेका छन् र जडान प्रक्रिया शुरू भइसकेको छ। बाँकी तीन हजार मिटर सात दिनभित्र उपलब्ध हुने जनाइएको छ।
मन्त्री श्रेष्ठले सुर्खेतको लो-भोल्टेज समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन भइसकेको र विद्युत् प्रणाली स्तरोन्नतिको काम केही महिनाभित्र शुरू हुने गरी प्रक्रिया अघि बढाइएको बताए। करिब ८० हजार ग्राहकलाई सेवा दिइरहेको सुर्खेत वितरण केन्द्रमा सेवाग्राहीका गुनासा र समस्या प्रत्यक्ष रूपमा सुन्ने अवसर पनि प्राप्त भएको उनले बताए।

