Nepal Purbadhar

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के, डिजिटल सेवाको प्रभावकारिता बढाउन निर्देशन


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको आकस्मिक अनुगमन गरी सेवा प्रवाह, डिजिटल प्रणाली र कार्यालयको कार्यसम्पादनबारे जानकारी लिएकी छन्।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित पुगेकी मन्त्री यादवलाई कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यान्वयन गरिएका सुधार तथा डिजिटल सेवाबारे जानकारी गराएकी थिइन्।

रजिष्ट्रार श्रेष्ठका अनुसार सरकारले अघि सारेको शासकीय सुधार कार्यसूचीअन्तर्गत कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। यसअनुसार सेवाग्राहीले कार्यालयमा उपस्थित नभई घरबाटै कम्पनी दर्ताको प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यालयले कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्ने प्रक्रियालाई पनि आन्तरिक राजस्व प्रणालीसँग एकीकृत गरिएको जनाएको छ। यसबाट सेवाग्राहीले छुट्टै कार्यालय धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको कार्यालयको भनाइ छ।

सेवाग्राहीका जिज्ञासा र गुनासो सम्बोधन गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी पनि कार्यालयले दिएको छ। यस प्रणालीमार्फत कम्पनी दर्तासम्बन्धी सूचना र सहजीकरण सेवा उपलब्ध गराउने व्यवस्था गरिएको कार्यालयको भनाइ छ।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्देशन दिइन्। उनले डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै सेवाग्राहीलाई अनावश्यक झन्झट हुन नदिन विशेष ध्यान दिन आग्रह गरिन्।

यसैबीच, कम्पनी रजिष्ट्रार कार्यालयले डिजिटल प्रणाली विस्तारसँगै जनशक्ति व्यवस्थापन पुनरावलोकनको प्रस्ताव उद्योग मन्त्रालयमा पठाएको छ। कार्यालयका अनुसार हाल उपलब्ध प्रविधिको प्रयोगबाट कार्यसम्पादन क्षमता बढेकाले करिब २८ प्रतिशत कर्मचारी दरबन्दी घटाउने प्रस्ताव गरिएको हो। प्रस्तावबारे अन्तिम निर्णय भने मन्त्रालय र सम्बन्धित निकायबाट हुन बाँकी छ।

अनुगमनका क्रममा मन्त्री यादव र मन्त्रालयको टोलीले कार्यालयका विभिन्न कार्यकक्षको निरीक्षण गरी सेवा प्रवाह र डिजिटल प्रणालीको अवस्थाबारे जानकारी लिएको थियो।


Read Previous

परराष्ट्र मन्त्रालयका १०० दिनः अधिकांश समय भेटघाटमै सीमित, उपलब्धि नगन्य

Read Next

तस्बिरमा हेर्नुुस् डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण क्षेत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar